राजस्व बोर्डमा दहाल र अधिकारी, तीन राजदूतको नियुक्ति
काठमाडौं, ३ भदौ । सरकारले बहुप्रतिक्षीत राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दहाललाई नियुक्त गरेको छ । त्यस्तै, बोर्डको सदस्यमा पूर्व सहसचिव निर्मलहरि अधिकारी नियुक्त भएका छन् । राजस्वसम्बन्धी विवाद समाधान तथा नीतिगत सुझाव दिन गठित यस बोर्डमा अर्थ मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद्ले दहाल र अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी अर्थ मन्त्रालयको सहसचिवबाट सेवा निवृत्त भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त भएका थिए ।
त्यसैगरी सरकारले जर्मनी, युरोपेली संघ र पाकिस्तानमा परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतको जिम्मेवारी दिएको छ । परराष्ट्रका सहसचिव गहेन्द्रराज भण्डारीलाई युरोपेली संघ, तपस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूत नियुक्त गरेको छ । यद्यपि डेढ–दुई वर्षदेखि राजदूत रिक्त रहेका दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकामा राजदूत नियुक्ती भएको छैन । संयुक्त राज्य अमेरिकामा अर्को नियुक्ति नभएसम्मका लागि एक कार्यकाल पूरा गरिसकेका अर्जुन कार्कीलाई नै जिम्मेवारी दिइएको छ ।