Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१८.८ प्रतिशतले खुम्चियो निर्यात वृद्धिदर, आयातमा १५.६ प्रतिशत ह्रास

१८.८ प्रतिशतले खुम्चियो निर्यात वृद्धिदर, आयातमा १५.६ प्रतिशत ह्रास

काठमाडौं, ९ भदौ । गत आर्थिक वर्ष (आव) २०७६÷७७ मा नेपालको कुल वस्तु निर्यात वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा १८.८ प्रतिशतले घटेको छ भने कुल वस्तु आयातमा पनि १५.६ प्रतिशत कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
अघिल्लो आवमा नेपालको निर्यात वृद्धिदर १९.४ प्रतिशत रहेकोमा गत आवमा घटेर ०.६ प्रतिशतमा खुम्चिएको हो । गत आवमा नेपालबाट रू. ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
उक्त प्रतिवेदनका अनुसार गन्तव्यका आधारमा गत आवमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ । यस्तै वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, लाष्टिकका भाँडा, फलफुल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
सोही अवधिमा कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर रू. ११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ । यसैगरी वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई रु.१० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x