Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

स्वास्थ्यका प्राथमिकतामा सहयोग गर्न दातृ निकाय तत्पर

स्वास्थ्यका प्राथमिकतामा सहयोग गर्न दातृ निकाय तत्पर

काठमाडौं, १९ भदौ । कोभिड–१९ को महामारीबीच अर्थमन्त्रालयले दातृ निकायका स्थानीय प्रतिनिधिहरुसँग भर्चुअल बैठक आयोजना गरेको छ । अर्थमन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालको अगुवाइमा सम्पन्न उक्त बैठकमा उनले दातृ निकायका स्थानीय प्रतिनिधिहरुलाई स्वास्थ्य मन्त्रालयको योजना र रणनीति अनुरुप स्रोत, मानव संशाधन, पूर्वाधार र लजिस्टीकमार्फत् लक्षित र प्रत्यक्ष सहयोगका लागि आग्रह गरेका थिए ।
महामारी आम जोखिम रहेको चर्चा गर्दै नेपालले सामूहिक प्रयासबाट मात्र यसको प्रभावकारी समाधान गर्न सकिने उल्लेख गरे । ‘यसरी परिचालन भएको सहयोग अन्ततः विश्वव्यापी समुदायको लागि हो,’ नेपाललाई उद्धृत गर्दै अर्थ मन्त्रालयले भनेको छ, ‘अहिले नियमित स्वास्थ्य सेवा प्रभावित नहुने गरी थप स्वास्थ्य सेवा विस्तार गर्नुपरेको छ । जगेडा स्वास्थ्यकर्मीहरुको व्यवस्था साथै प्रभावकारी र पारदर्शी सञ्चार रणनीति अहिलेको महामारीका समयमा काम गर्ने महत्वपूर्ण सूत्र हो ।’
बैठकमा ५० सहभागीहरु थिए । विभिन्न देशका राजदूतहरुसहित दातृ निकायका स्थानीय प्रतिनिधिहरु, नियोग निर्देशक, आवासीय संयोजक तथा अन्य प्रतिनिधिहरुसँगको बैठकमा नियमित मुद्दाका अतिरिक्त कोभिड–१९ महामारीका विषयमा छलफल भएको थियो । अर्थ मन्त्रालयबाट नेपालसँगै उपसचिव नारायण ढकालले दातृ निकायबाट प्राप्त स्रोत व्यवस्थापनका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए । स्वास्थ्य मन्त्रालयकी वरिष्ठ स्वास्थ्य प्रशासक यशोदा अर्यालले वर्तमान अवस्था, लजिस्टिक, पूर्वाधार तथा जोखिम र सञ्चार व्यवहारका सम्बन्धमा चर्चा गरेकी थिइन् । उनले महामारीसँग जुझ्नका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, स्रोत तथा मानव संशाधन व्यवस्थापन, संक्रमित व्यक्तिहरुको व्यवस्थापन, लजिस्टिक व्यवस्थापन, गुणस्तर नियन्त्रण तथा प्रतिवद्धता, जोखिमका सम्बन्धमा जनचेतना, प्रतिरक्षा प्रणालीको परिक्षण र अध्ययन लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा जापानी राजदूत मासामिची साइगो, कोरियाली राजदूत पार्क चोङ सुक, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस, एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभ, संयुक्त राष्ट्रसंघ आवासीय संयोजक भ्यालरी जुलियान्ड, अमेरिकी सहयोग नियोगकी सेपिड केभानसाद, डिफिडकी नायब राष्ट्रिय निर्देशक नाथानेल बेभान, युरोपेली संघका सहायता प्रमुख मार्को लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पूरक सहयोग तथा नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लगानीको सम्बन्धमा चर्चा गरेका थिए । अन्य दातृनिकायहरु, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, भारत, चीन, स्वीजरल्याण्ड, जर्मनी, केएफडब्लु डेभलपमेन्ट ब्यांक, जीआइजेड, जाइका नेपाल, विश्व खाद्य कार्यक्रम, युनिसेफ, एसएनभी, फिनल्याण्ड, अन्तर्राष्ट्रिय श्रम संगठन लगायत बैठकमा उपस्थित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x