Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नियमित उद्योग व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन परिसंघको माग

नियमित उद्योग व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन परिसंघको माग

काठमाडौँ, २८ भदौ । नेपाल उद्योग परिसंघले निषेधाज्ञा र लकडाउनको अन्त्य गरी नियमित उद्योग व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी बन्दाबन्दीका कारण उद्योग व्यवसाय धरासयी भएको जानकारी गराउँदै बन्दाबन्दी कोरोना रोकथामको विकल्प नभएको भन्दै कोरोना सँगै दैनिक क्रियाकलाप सामान्य गर्नुपर्ने माग गरेको हो ।
कोरोनाका कारण थिलथिलो भएका उद्योग व्यवसायहरु लकडाउन खुकुलो भएपछि असारयता फाट्टफुट्ट सञ्चालनमा आइरहेका छन् । तर उद्योगसँग सम्बन्धित कुनै कर्मचारी वा श्रमिकलाई कोरोना देखिएपछि प्रशासन र उद्योग वरिपरिको समाजले उद्योगीलाई उद्योग बन्द गर्न दबाब दिने गरेको छ । जसकारण उत्पादनमा गम्भीर असर परेकाले कोरोनासँगसँगै नियमित काम गर्ने वातावरण मिलाउन सरकारी व्यक्तित्वसँग भेटघाट गरी निजी क्षेत्रले आग्रह गरिरहेको छ । गत आइतवार प्रधानमन्त्री केपी शर्मा ओली, उद्योगमन्त्री लेखराज भट्टलाई भेटेर नियमित उद्योग सञ्चालनको व्यवस्था गर्न माग गरेको परिसंघले शनिवार राष्ट्रपतिलाई भेटेर यस्तो आग्रह गरेको हो ।
परिसंघले कोरोनाबाट जोगिनका लागि उद्योगमा कार्यरत कर्मचारी र मजदुरलाई सुरक्षाका मापदण्ड पूर्ण रुपमा अपनाएर उनीहरुको हौसला बढाइ संक्रमणबाट जोगाउन आफूहरु प्रतिवद्ध रहेको बताएको छ । यसरी काम गर्दागर्दै कोही कामदार संक्रमित भएमा राम्रो उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाइ उद्योगीहरुले राष्ट्रपतिसमक्ष बन्दाबन्दी अन्त्य गर्न आग्रह गरे । ‘बन्दाबन्दी कोरोना रोकथामको विकल्प होइन, संसारभरी बिना बन्दाबन्दी दैनिक क्रियाकलापहरु सञ्चालन भइरहेका छन्,’ परिसंघका अध्यक्ष सतिश कुमार मोरले भने, ‘त्यसैले नेपालमा पनि बन्दाबन्दी अन्त्य गरी नियमित उद्योग व्यवसाय सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छौँ ।’
उनले उद्योग व्यवसायमा संलग्न कुनै कर्मचारीलाई कोरोना देखिए पीसीआर जाँच गरी कन्ट्र्याक ट्रेसिङ गरी संक्रमितको उपचार गरिने र बाँकी कर्मचारीबाट नियमित उद्योग सञ्चालनका लागि पहल गर्न सरकारसँग आग्रह गरिएको बताए ।
कुनै उद्योगमा कुनै श्रमिकलाई कोरोना देखिए उद्योग नै बन्द गर्नुपर्ने प्रशासनिक र सामाजिक दबाबलाई सदाका लागि अन्त्य गरी निरन्तर उद्योग सञ्चालनको व्यवस्था गर्न परीसंघले सरकारसँग माग गरेको हो ।
यस्तै व्यवसायीहरुले बन्दाबन्दीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राखी कर तिर्न तोकिएको समय पनि बढाउनुपर्ने राष्ट्रपतिसँग आग्रह गरे । ‘पर्यटन व्यवसाय कोरोनापछि ध्वस्त भएकाले अवस्था सामान्य गरी होटल तथा पर्यटन व्यवसाय नियमित सञ्चालन गर्न आग्रह गरेका छौँ,’ मोरले जानकारी दिए ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए । छलफलपछि राष्ट्रपति भण्डारीले उद्योगीको माग सकारात्मक रहेको प्रतिक्रिया जनाउँदै यसका लागि पहल गर्ने आश्वासन दिएको परिसंघले विज्ञप्ति सार्वजनिक गरि जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x