प्राधिकरणको साख सुधार्ने कुलमान घिसिङको कार्यकाल सकियो
काठमाडौं, २९ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकाल पुरा गरेका छन् । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को सिफारिशमा २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकार निर्देशक नियुक्त गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई हटाएर सरकारले घिसिङलाई व्यवस्थापनको नेतृत्व दिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणमा व्यवस्थापनको नेतृत्व सम्हालेका धेरैजसो यसअघि विवादित हुँदै आएका थिए । लोडसेडिङ थपिदैं गएपछि विद्युत् प्राधिकरणको छवि आम जनमानसमा धुमिल हुँदै गएको थियो । घिसिङ यस्ता भाग्यमानी कार्यकारी निर्देशक हुन् । जो विवादमा पर्नु त टाढाको कुरा कसैले उनीमाथि औंला उठाउने ठाउँ नै दिएनन् । बरु नेपाल विद्युत् प्राधिकरणको गिर्दो साख सुधार गरेर उक्त संस्थालाई आम चासो र आकर्षणको केन्द्र बनाए । चार वर्षे कार्यकालभरी उनले वाहीवाही कमाए । सबैभन्दा ठूलो उपलब्धिका रुपमा उनले लोडसेडिङ अन्त्य गरे । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको २०७३ सालकै हिउँददेखि क्रमशः काठमाडौं, पोखरा, भरतपुर, भैरहवा, विराटनगर हुँदै सबै ठूला सहरहरुमा लोडसेडिङ अन्त्य भयो । उनले घरयासीमात्र होइन, प्राधिकरणमा आएको दोस्रो वर्ष औद्योगिक क्षेत्रको लोडसेडिङ घटाए ।
कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि यसको वित्तिय स्थितिमा पनि ठूलो सुधार गरे । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गएको आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको थियो । प्राधिकरणको सञ्चित नाफामा पनि सुधार भएको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले २०७३/०७४ मा एक अर्ब ४७ करोड, २०७४/०७५ मा दुई अर्ब ८५ करोड र २०७५/०७६ मा नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण प्राधिकरणले देशलाई लोडसेडिङमुक्त बनाएको छ भने नाफामा पनि निरन्तर वृद्धि गर्दै गइरहेको छ ।
यसका अतिरिक्त घिसिङले विद्युत् प्रसारण र वितरणको पाटोमा पनि धेरै काम गरेका छन् । पूर्वपश्चिम उच्च क्षमताको प्रसारणलाइन निर्माणको कामले गति लिएको छ । साथै, जलविद्युत् आयोजनाहरु रहेका विभिन्न करिडोरबाट विद्युत् इभ्याकुएसनका लागि समयमै विद्युत् प्रसारणलाइन निर्माण सम्पन्न गर्न उनले महत्व दिएका छन् । विद्युतीकरणमा पनि उल्लेख्य प्रगति भएको छ । अहिले मुलुकभर ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ।
उनलाई प्राधिकरणको नेतृत्वमा निरन्तरता दिनुपर्ने सर्वत्र माग छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने घिसिङले आफूलाई केन्द्रमा राखेर काम गरेको, प्राधिकरणको स्रोतमा आफ्नो प्रचारप्रसार गर्ने गरेकोले आफू उनीप्रति सकारात्मक नरहेको बताउँदै आएका छन् । उनी उर्जामन्त्री वर्षमान पुनको रोजाइमा पनि परेका छैनन् । यद्यपि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको उनलाई साथ छ । घिसिङलाई दोहोर्याउनुपर्ने जनदबाबका बीच केही दिन अघि उर्जामन्त्री पुनले उनलाई अब थप दुई वर्ष अर्थात् पूर्ण कार्यकालको आधा समय थप्ने सम्बन्धमा प्रस्ताव तयार भएको र मन्त्रिपरिषद्मा लैजाने बताएका थिए । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले प्राधिकरणको नेतृत्व छान्नेछ । तर घिसिङलाई निरन्तरता दिने या नदिने भन्ने यकिन भैसकेको छैन ।