Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहामा पर्यटकीय चहलपहल बढ्दै

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहामा पर्यटकीय चहलपहल बढ्दै

चितवन, ६ असोज । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेपछि सौराहामा पर्यटकीय चहलपहल देखिन थालेको छ । करिब ६ महीनाको बन्दाबन्दी र निषेधाज्ञापछि सोमवारदेखि सञ्चालनमा आएको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिने क्रम निकै बढेको छ । कोभिड–१९ महामारीका कारण बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न शुरू भएका हुन् । रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेसँगै पर्यटन आउने क्रम शुरू भएको बताए । ‘सोमवारदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेकाले थप आशा जगाएको छ,’ उनले भने ।

बुधवारदेखि क्रमशः पर्यटक आउन शुरू गर्ने अनुमान उनको छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैं अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ । होटल बन्द भएपछि भएको फोहोर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउन राखिएका ५० ओटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० ओटा फिर्ता गरिसकिएको उनले जानकारी दिए ।

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैंअघि होटल खोल्ने मनस्थितिमा छैनन् । ‘ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैं अघि होटल खोल्ने मनस्थितिमा म छैन,’ उनले भने । खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार असोज ७ गतेपछि खोल्न सबैले तयारी शुरू गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरू भएसँगै पर्यटक बढ्ने उनको अनुमान छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश सोमवारदेखि खोलिएको बताए । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुंगा शयर पनि गराइन्छ । बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उनले जानकारी दिए ।

चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महीनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x