पोखरामा विश्व पर्यटन दिवस, ‘फेवा फेरो फुट ट्रयाक रेखी’ को सुरुवाल
प्रदिप पौडेल
पोखरा, ११ असोज । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान गराउन ४१ औं विश्व पर्यटन दिवसका अवसरमा पोखराका पर्यटन व्यवसायीले सरोकारवाल निकायहरुलाई सहभागी गराएर ‘फेवा फेरो फुट ट्रयाक रेखी’ गरेका छन् । कोरोना महामारीका कारण जनजीवन असहज बनेपछि विगतका जस्तो कार्यक्रम छोडेर यसपालि फेवातालको दक्षिणी भेग रानीबनमा फुट ट्रयाक निर्माणका लागि दबाब दिन पर्यटन व्यवसायीहरुले चाँजोपाँजो मिलाएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको नेतृत्वमा फेवातालमा डुंगा सयर गर्दै तालको दक्षिणी भेगबाट पनि फुट ट्रयाक निर्माणको लागि सरोकारवाला पक्षसहितको अवलोकन भ्रमण गर्नु भएको थियो । कार्यक्रममा करिब १० वटा मोटरबोटमा ५० जनाले फेवाताल किनार ड्यामसाइड हुँदै सिरानसम्मै फुटट्रयाक रेखी गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि मात्रै रानीबन क्षेत्रमा फुटट्रयाक निर्माणका लागि लाग्ने बताए । उनले भने,– ‘अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्छ ।’
पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फुटट्रयाक निर्माण बजेट विनियोजन भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए ।
सो ट्रयाक निर्माणले आगामी दिनमा पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाट मात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकै नजरमा हेरेर रमाउन पाउने छन् ।
पोखरालाई उत्तरतर्फबाट पारेर हिमाल र ताल एकै पटक हेर्न पोखरा २२ स्थित विश्व शान्ति स्तुपा पुग्नुपर्ने बाध्यता छ । फुट ट्रयाक निर्माणले रानीवन, फेवाताल, हिमाल र पोखरा सहर एकै नजरमा देख्न सकिन्छ । ताल र वनमा क्षति नपुग्न र प्राकृतिक सम्पदा नबिग्रने गरी निर्माण गरिने फुट ट्रयाक करिब १५ किमी सम्म हुने अनुमान छ ।
पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि हाल २ देखि ३ दिनमात्र छ । फुट ट्रयाक निर्माणले थप दुई दिन बसाइँ लम्बिने पर्यटन व्यवसायीहरुको अनुमान छ ।
पोखरामा गत वर्ष करिब ४ लाख नेपाली र ४ लाख विदेशी पर्यटक घुम्न आएका थिए । नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत यहाँ आउँछन् ।
फेवातालको उत्तरी भागमा यसअघि ५ किमी लम्बाइको फुट ट्रयाक निर्माण भैसकेको छ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बिहान–साँझ ताल किनारमा कावा खाँदै रमाउने गर्दछन् ।
नेपाल आउने पर्यटक मध्य करिव ४० प्रतिशत पर्यटकहरु पोखरा आसपासका क्षेत्रमा आउने गर्दछन् । गत वर्ष करिव ४ लाख पर्यटकले पोखरा भ्रमण गरेका थिए भने ४ लाख बढि आन्तरीक पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् । पोखरामा निजि क्षेत्रबाट पर्यटन क्षेत्रमा ठूलो लगानी भएपनि कोरोना संक्रमणका कारण करिव ७ महिनादेखी यहाँको पर्यटन क्षेत्र सञ्चालन हुन नसक्दा ३० हजार मानिसहरु बेरोजगार भएको व्यवसायीहरुले बताएका छन् ।