Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

व्यावसायिक जनशक्ति विकास र हाम्रो शिक्षा प्रणाली

व्यावसायिक जनशक्ति विकास र हाम्रो शिक्षा प्रणाली

कुसुम शाक्य

आज विकसित देशहरूमा जनशक्ति (ह्युमन रिसोर्स) लाई मानव पूँजी (ह्युमन क्यापिटल) भन्न थालिएको छ । वास्तवमा अर्थतन्त्रको विकास र विस्तारका लागि पूँजी, प्रविधि र श्रम आवश्यक छन् । श्रम–सघन कतिपय कामलाई अब प्रविधिले सहज बनाइदिएको छ । चौथो चरणको औद्योगिक क्रान्ति थ्रीडी प्रिन्टिङको युगसम्म आइपुग्नुमा प्रविधिका क्षेत्रमा भएको निरन्तरको अध्ययन, अनुसन्धान र खोज प्रमुख कारण हुन् । त्यसकारण आजको युगमा मानव पूँजीको ठूलो महत्व छ ।
खासगरी हामीजस्ता तेस्रो विश्वका मुलुकहरूले आज पनि दक्ष जनशक्ति विकासका लागि काम गर्न सकिरहेका छैनौं । हाम्रो शिक्षा प्रणाली दक्ष र व्यावसायिक जनशक्ति उत्पादन अनुकूल छैन । सर्वप्रथम त दक्ष जनशक्ति भनेको के हो भनेर बुझ्नुपर्छ । वस्तुतः मानिस अर्थात् जनतामा रहेको शक्ति या काम गर्न सक्ने क्षमता नै जनशक्ति हो । दक्ष भन्नाले शारीरिक, मानसिक, बौद्धिक गुण, शीप तथा क्षमताले युक्त भन्ने बुझ्न सकिन्छ । समग्रमा दक्ष जनशक्ति भनेका निश्चित क्षेत्रमा काम गर्न सक्ने विशिष्ट ज्ञान र शीप भएका नागरिक हुन् ।

कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू त्यस क्षेत्र वा कार्यका लागि विशिष्ट जनशक्ति हुन् । देश विकासका लागि दक्ष जनशक्ति अनिवार्य शर्त हो । यस्ता जनशक्ति देशको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि अभिन्न अंग पनि हुन् । हुन त देश विकासका लागि अर्धदक्ष वा अदक्ष व्यक्तिको पनि महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि विशिष्ट कार्यदक्षता भएको जनशक्ति देश विकासको भरपर्दो आधार हुन् र उनीहरूले विकासको गतिलाई तीव्रता दिन सक्छन् । यस्तो जनशक्तिको उत्पादनमा शिक्षाको अतुलनीय सम्बन्ध र योगदान हुन्छ । दक्ष जनशक्ति विकासका लागि सो अनुकूल शिक्षाको खाँचो पर्छ । परम्परागत र सैद्धान्तिक शिक्षाले व्यक्तिलाई दक्ष बनाउन सक्दैन । देशको आवश्यकता र सम्भावनामा आधारित प्रयोगात्मक शिक्षाको कार्यान्वयनले दक्ष जनशक्ति विकासको लक्ष्य हासिल गर्न सकिन्छ । अहिले विद्यमान हाम्रो शिक्षा प्रणालीका कारण उच्च शिक्षा हासिल गरेर पनि मानिसले विषय अनुसारको पेशा व्यवसाय वा जागीर गर्न सक्ने अवस्था एकदम कम छ, जसले गर्दा औपचारिक रूपमा जुन विषय पढेको भए पनि अधिकांशले अन्ततः शिक्षण पेशा रोज्ने गरेको पाइन्छ ।

यस्तो हुनुमा मुख्यतः शिक्षा र रोजगारीबीच तालमेल हुन नसक्नु मुख्य समस्या हो । बजारको माग अनुरूप शैक्षिक कार्यक्रम नहुँदा पढेलेखेका जनशक्तिलाई पनि रोजगारी पाउन मुश्किल भएको स्थिति छ । कतिपय व्यावसायिक तथा प्राविधिक शिक्षा हासिल गरेकाहरूलाई समेत सम्भाव्य रोजगार क्षेत्रको पर्याप्त व्यावहारिक ज्ञान नहुँदा रोजगारी पाउन कठिन भइरहेको देखिन्छ । यसमा शिक्षित दक्ष जनशक्ति रोजगारदातासम्म पुग्ने वातावरण नबन्नु एउटा कारण हो । यस्तै उच्च शिक्षा हासिल गरेका श्रमशक्तिको माग सेवा क्षेत्रको वृद्धि अनुसार बढेको छैन । यस्तै तालिम प्राप्त दक्ष जनशक्तिको कमी छ । हाम्रो शिक्षाले उत्पादन गर्ने जनशक्ति र बजारमा उपलब्ध रोजगारीबीच शीप तथा दक्षताको हिसाबले धेरै ठाउँमा तालमेल मिलिरहेको छैन ।

शिक्षा र रोजगारीको समन्वयकै चर्चा गर्दा सबैभन्दा पहिला कुन क्षेत्रका लागि कति जनशक्ति आवश्यक पर्छ र त्यो माग प्रतिवर्ष कुन दरले पूरा गर्ने भन्ने अभ्यास हामीकहाँ हुन सकेको छैन । श्रम बजारको प्रक्षेपणविना नै धमाधम जनशक्ति उत्पादन मात्र भइरहेको छ । त्यसैले अनुमान र तथ्यांकमा आधारित मूर्त योजना बनाएर काम गर्न सके दक्ष जनशक्ति सजिलै रोजगार बजारमा खपत हुन सक्छन् । यस्तो योजना बजार मागमा आधारित हुनुपर्छ, जसले शैक्षिक बेरोजगारको समस्या समाधानमा सघाउन सकोस् ।

दक्ष जनशक्ति उत्पादनको सन्दर्भमा वस्तुतः शिक्षा श्रम, शीप र उत्पादनसँग जोडिने खालको हुनैपर्छ । परम्परागत प्रणालीको शिक्षाबाट दक्ष जनशक्ति उत्पादन नहुने हुँदा यस्तो शिक्षाले देशको समृद्धिमा योगदान दिन सक्दैन । देशको उत्पादकत्व वृद्धिका लागि पनि दक्ष जनशक्तिको गुणात्मक विकास आवश्यक हुन्छ । निश्चित तहको शिक्षा हासिल गरेपछि यस्तो जनशक्तिलाई सजिलै रोजगारी पाउने वातावरणका लागि पर्याप्त व्यावहारिक अभ्यास हुनुपर्छ । यसका लागि पढ्दापढ्दै उत्पादनमा सहभागी हुने वा कुनै तह पार गर्न निश्चित परिणामको उत्पादन गरेको हुनैपर्ने नीति अँगाल्नु अपरिहार्य देखिन्छ । देशका हरेक प्राविधिक शिक्षालय, क्याम्पस, विश्वविद्यालय जस्ता शैक्षिक प्रतिष्ठानले आफ्ना विद्यार्थीलाई सम्बन्धित विषय अनुसारको कुनै न कुनै उत्पादनमा जोड दिए मात्र त्यहाँबाट निस्किएका विद्यार्थी भोलिका दिनमा खास अर्थमा दक्ष जनशक्ति बन्छन् ।
हामीकहाँ मुख्य समस्या नै शिक्षित नागरिकमा स्वरोजगारमैत्री र आयआर्जनमूलक ज्ञान र शीपको अभाव हो । यसो हुनुमा माथि उल्लेख गरिए जस्तै समयसापेक्ष शिक्षाको कमी पनि हो । त्यसैले समयअनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको मुख्य आवश्यकता हो । यीमध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः कार्यान्वयन हुन सकेको छैन । हाम्रो शिक्षा व्यावहारिक भन्दा बढी सैद्धान्तिक छ । त्यसैले शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ ।

राज्यले उपलब्ध दक्ष जनशक्तिको उपयोग गरी अधिकतम लाभ हासिल गर्ने कार्यक्रम बनाउनुपर्छ । जनशक्तिले अध्ययन गरेको विषय वा सिकेको शीप अनुसारको क्षेत्रमा रोजगारीका अवसर सृजना गराउन पहल गर्नुपर्ने हुन्छ । अन्यथा मुलुकमा रहेको जनशक्ति अन्य वैकल्पिक बाटो अपनाउन बाध्य हुन्छन् । मुलुकमा रोजगारीको अवसर नदेखेकै कारण ठूलो संख्यामा श्रम शक्ति वैदेशिक रोजगारमा जानुको कारण पनि यही हो ।नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकको मौलिक हकमा रोजगारी पनि राखिएको छ, तर यसको कार्यान्वयन हुन सकेको छैन । सोही कारण अहिले नेपाली युवा जनशक्ति विदेश पलायनले विकराल रूप लिँदै छ, जसलाई हामी ‘ब्रेन ड्रेन सिण्ड्रोम’ भन्छौं । दक्ष जनशक्ति उत्पादन भए रोजगारीका अवसर नहुँदा जनशक्ति ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायनको समस्या छ । यस्तै दक्षता, शीप, सहयोग र सोचको कमीले पनि धेरै ग्रामीण युवा रोजगारी नपाएपछि निर्वाहमुखी जीविकोपार्जन हुने खालका स्वरोजगारतिर लागेका हुन्छन् । ती युवा विदेशिएपछि धेरैजसो उतै बस्ने गरेका छन् ।

यस्तै नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनि बढ्दा नेपालबाट विदेशिने रकम पनि बढ्दै गएको छ । उच्च शिक्षाका नाममा अघिल्लो आर्थिक वर्षमा ४० अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक छ । यो क्रम वर्षेनि बढ्दै गएको पाइन्छ । देशमै गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न सकिँदैन ।हाम्रोमा शिक्षा व्यावहारिक रूपमा राज्यको प्राथमिकतामा परेको पनि देखिँदैन । शैक्षिक संस्थामा हुने राजनीति, शिक्षामा भएको नीतिगत लगायतका कैयौं भ्रष्टाचार, व्यापारीकरण, माफियाकरणले पनि हामीले खोजेको जस्तो शिक्षा प्राप्तिमा चुनौती भइरहेको छ । अतः यस्तो प्रवृत्तिको अन्त्य गर्दै उच्च शिक्षालाई अनुसन्धान र ज्ञानमा आधारित बनाएर अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने टड्कारो आवश्यकता छ । छिमेकी राष्ट्रमा विद्यालय शिक्षालाई रोजगारमैत्री बनाइसकेको अवस्थामा नेपालले पनि सोही मोडलमा विद्यालय शिक्षा शुरू गर्नुपर्छ । उद्यमशीलता र रोजगारी विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरी शीपमूलक शिक्षामा जोड दिन सबैले सुझाव दिए अनुसार कार्यक्रम अघि बढाउनुपर्छ । स्नातकोत्तर उपाधि विद्यार्थीको पाठ्यक्रमकै अंगको रूपमा इन्टर्नशिप (प्रशिक्षार्थीका रूपमा काम गर्ने) सेवाको प्रबन्ध गरी शिक्षालाई राष्ट्र निर्माणमा आबद्ध गराउने योजना अघि बढाउनुपर्छ ।

विद्यमान शिक्षा पद्धतिमा साधारण शिक्षा प्रधान छ । परिणामस्वरूप, जसले जुन विषय अध्ययन गरेको छ, सोही विषयको शिक्षक उत्पादनको काम मात्र हुन्छ । वर्षैपिच्छे लाखौंको संख्यामा शैक्षिक उत्पादन भइरहेको छ । रोजगारीको अभावमा शैक्षिक जनशक्तिमा ठूलो निराशा छ । न त उनीहरू स्वरोजगार हुने योग्यता राख्छन्, न राज्यले नै उनीहरूको क्षमता अनुसारको रोजगारी दिन सक्छ । शिक्षा क्षेत्रमा रहेको यो अन्यौलको अवस्थामा परिवर्तन हुन जरुरी छ । साधारण शिक्षा बहुल विद्यमान शैक्षिक परिपाटी अन्त्य गरी प्राविधिक र व्यावसायिक शिक्षामा केन्द्रित गर्नुपर्छ ।
विशेषगरी शैक्षिक एवं भौतिक अवस्थामा सुधार ल्याउन सरकारले शैक्षिक लगानी बढाउन आवश्यक छ । सरकारी शिक्षण संस्थाको स्तर वृद्धिका लागि शिक्षक र भौतिक संरचनामा लगानी बढाउनुपर्छ । शिक्षक प्राध्यापकको सेवा–सुविधामा न्यूनतम नघट्ने गरी व्यवस्थापन गर्न जरुरी छ । शिक्षण पेशा मर्यादित र सम्मानित बनाउनुपर्ने खाँचो पनि छ । उल्लिखित सबै पक्षलाई ध्यानमा राखेर सरकारले शिक्षामा लगानी बढाउनु पर्छ, जसले गर्दा शैक्षिक दक्ष जनशक्ति उत्पादन भई मुलुकको विकास र समृद्धिमा ठोस योगदान पुग्नेछ ।

(शाक्य, अर्थशास्त्री हुन)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x