नेप्से परिसूचक ३ अंक घटेसँगै कारोबार रकम पनि घट्यो, रौराङ हाइड्रोपावर र कामना सेवाको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, १९ असोज । सोमबार शेयर बजार घटेर बन्द भएको छ । हिजो १४ अंक वृद्धि भएको बजार आज सामान्य अंक घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ३.६३ अंक घटेर १५८२.१२ विन्दुमा झरेको छ ।
त्यस्तै हिजो ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको छ । १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर २ अर्ब ५७ करोड ८६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । आज रौराङको प्रतिशेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ भने कामना सेवाको २२० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक घटेको छ । यो फाइनान्सको ७.१९ प्रतिशत शेयर मूल्य घटेको हो ।
त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । पुनर्बीमा कम्पनीको आज शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटेल समूह ०.२४ प्रतिशत, विकास बैंक समूह १.२४ प्रतिशत, हाइड्रोपावर समूह २.१४ प्रतिशत, अन्य समूह ०.१२ प्रतिशत र म्यूचुअल फण्ड ०.८२ प्रतिशत रहेका छन् ।