Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

महामारीका बेला उपभोक्ता हितविपरीत गतिविधि बढ्यो, ४८४ फर्ममा कैफियत, १३७ वटालाई कारबाही

महामारीका बेला उपभोक्ता हितविपरीत गतिविधि बढ्यो, ४८४ फर्ममा कैफियत, १३७ वटालाई कारबाही

काठमाडौं, ५ कात्तिक । कोरोना महामारीको विषम परिस्थितिमा समेत उपभोक्ता हित विपरीतका गतिविधिमा कमी आएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो समय गरेको बजार अनुगमनले यस्ता गतिविधि बढ्दै गएको देखाएको छ ।
विभागले गत असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ फर्म कारबाहीमा परेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा ४८४ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने १३७ फर्मलाई जरीवाना कारबाही गरिएको हो, जसबाट रू. ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले बताएको छ ।
अनुगमनका क्रममा रू. ९८ हजार ७८२ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको विभागले बताएको छ । सूचना अधिकारी आचार्यका अनुसार सो अवधिमा १०४ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फर्मको कारोबार रोक्का तथा सिलबन्दी गरिएको र ६ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएको थियो । विभागको तथ्यांक अनुसार गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरीवाना गरिएको छ । ३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । यसैगरी फलफूल तथा तरकारी पसलपछि सबैभन्दा धेरै कारबाही पानी उद्योगलाई गरिएको छ । ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ । साथै अनलाइन पसल, औषधि पसल, किराना पसल र गार्मेन्ट, ग्यास पसल, पार्टी प्यालेस, मार्ट र रेष्टुराँहरूले समेत मापदण्ड विपरीत कार्य गरेको पाइएको छ ।
विगत १ महीना अवधिमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फर्म तथा उद्योगको अनुगमन गरिएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरीवाना गरिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x