महासंघले निर्वाचनका लागि तय गर्यो तीन अलग–अलग स्थान
काठमाडौं, ५ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले ५४ औं वार्षिक साधारण सभाका लागि काठमाडौंका तीन अलग– अलग स्थानमा निर्वाचनका कार्यक्रमहरु गर्ने भएको छ । महासंघको आगामी मंसिर ११ र १२ गते वार्षिक साधारण सभा तथा १३ गते निर्वाचन कार्यक्रम गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।
महासंघले बुधवार सार्वजनिक गरेको तालिका अनुसार कार्यालय टेकु, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की व्याङकेट बबरमहलमा निर्वाचन कार्यक्रम गरिने छ । यो वर्ष कोरोना संक्रमणका कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई आधार पालना गर्दै अलग– अलग स्थानमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
तीन सदस्यीय निर्वाचन समितिको मुख्य निर्वाचन अधिकृतमा उपेन्द्रकेशरी न्यौपाने रहेका छन् भने अन्य निर्वाचन अधिकृतमा रमणकुमार कर्ण तथा लिलामणी पौडेल रहेका छन् ।
महासंघका अनुसार उम्मेद्वारहरुले विभिन्न पदका लागि मनोनयन पत्र दाखिला बुधवार देखिनै गर्न सक्नेछन् भने मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मंंसिर चार गते प्रकाशित हुनेछ।
विधान अनुसार सो साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने छन् भने वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।