झिनो अंकले घटेको बजारमा ३ अर्बभन्दा बढीको शेयर कारोबार
काठमाडौं, १३ कात्तिक । दशैं विदापछिको पहिलो कारोबार दिन ४१ अंकले बढेको शेयर बजार दोस्रो दिन बिहीबार (आज) झिनो अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.७८ अंक घटेर १६४५.६७ विन्दुमा रोहिएको छ । आज नेप्से परिसूचक घटेको भएपनि कारोबार रकम भने वृद्धि भएको छ । हिजो २ अर्ब ७२ करोड रुपैयाँको शेयर खरिद विक्री भएकोमा आज ३ अर्ब ३ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१९२ कम्पनीको ४१ हजार ९०९ पटकको कारोबारमा एक करोड ३ लाख ६५ हजार ६०७ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि शिभ श्री हाईड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भई १३२ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्राइम कमर्शियल बैंक लिमिटेडको भएको छ । यो बैंकको १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह १.३७ प्रतिशत, हाईड्रपावर समूह ०.४९ प्रतिशत, निर्जीवन बीमा समूह ०.५ प्रतिशत, अन्य समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.५ प्रतिशत र जीवन बीमा समूह ०.०९ प्रतिशत रहेका छन् ।
त्यस्तै परिसूचक घट्नेमा बैंकिङ्ग समूह ०.४७ प्रतिशत, होटल समूह ०.८७ प्रतशित, विकास बैंक समूह ०.७८ प्रतिशत, वित्त समूह ०.३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१३ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.९३ प्रतिशत रहेका छन् ।