Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

ऊर्जा क्षेत्रका उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता

ऊर्जा क्षेत्रका उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता

काठमाडौं, १९ कात्तिक । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा मुलुकको ऊर्जा क्षेत्रतर्फका उद्योगमा उत्साहजनक रूपमा लगानी प्रतिबद्धता पाएको पाइएको छ । उद्योग विभागका अनुसार असोज मसान्तसम्मा स्वदेशी एवं विदेशी लगानीकर्तामार्फत कुल रू. ६२ अर्ब ३७ करोड १७ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ । यसमध्ये सबैभन्दा बढी ऊर्जामूलक उद्योगका लागि रहेको छ ।
सो अवधिमा ऊर्जा क्षेत्रका उद्योगमा लगानी प्रतिबद्धता ८२ प्रतिशतभन्दा धेरै अर्थात् रू. ५१ अर्ब २४ करोड ६५ लाख रहेको छ । ११ वटा उद्योग स्थापनाका लागि उक्त परिमाणको लगानी प्रतिबद्धता आएको हो । यी उद्योग स्थापनापछि ५०३ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।
विभागका अनुसार गत आवको सोही अवधिमा पनि सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जाका उद्योगमै आएको थियो । गत आवको पहिलो तीन महिनामा ऊर्जामा ३५ अर्ब २६ करोड ४५ लाख बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
चालू आवको असोज मसान्तसम्ममा सबैभन्दा कम लगानी प्रतिबद्धता भने सूचना तथा सञ्चार प्रविधिका उद्योगमा आएको छ । लगानीकर्ताले यस क्षेत्रका तीन वटा उद्योगका लागि रू. ५५ करोड बराबरको लगानी प्रतिबद्धता गरेका छन् ।
सोही अवधिमा उत्पादनमूलक ११ उद्योगका लागि ३ अर्ब ९ करोड ४५ लाख, पर्यटनका १३ उद्योगका लागि २ अर्ब ९० करोड ३२ लाख, सेवामूलक ११ वटा उद्योगका लागि २ अर्ब ५३ करोड र कृषि तथा वन पैदावरका ६ वटा उद्योगका लागि २ अर्ब चार करोड ७५ लाख लगानी गर्ने प्रतिबद्धता जनाएको विभागले बताएको छ । लगानीकर्ताले उद्योग स्थापनाको प्रतिबद्धतासँगै कृषिमा ७३६ जना, सूचना प्रविधिमा १२८ जना, उत्पादनमा ८५१ जना, सेवामा ८५० जना र पर्यटनमा ५३२ जनाले रोजगारी पाउने जानकारी विभागलाई दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x