Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३ वर्षभित्र सम्पन्न गर्नेगरी बाँकेको खजुरामा औद्योगिक ग्राम निर्माण शुरू

३ वर्षभित्र सम्पन्न गर्नेगरी बाँकेको खजुरामा औद्योगिक ग्राम निर्माण शुरू

बाँके, २५ कात्तिक । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरू भएको छ । संघीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रू. ३१ करोड ३० लाख २१ हजार ४७३ लागतमा औद्योगिक ग्राम निर्माण कार्य शुरू भएको हो । औद्योगिक ग्रामको निर्माण ३ वर्षभित्र सम्पन्न गरिने बताइएको छ ।
करीब २१ बिगाघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त रू. ९२ लाखको लागतमा तारबार तथा चौकीदार भवन निर्माण भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । औद्योगिक ग्राममा ठूला, मझौला र साना उद्योग रहनेछन् । निर्माण भइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगले आउने इच्छा व्यक्त गरेको बताइएको छ ।
जिल्लामै पहिलोपटक पालिकास्तरमा निर्माण शुरू भएको औद्योगिक ग्रामको लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले हालै अवलोकन समेत गरेको छ ।
अवलोकनमा पुगेको टोलीलाई अध्यक्ष कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै तीन वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । लगानी बोर्ड तथा मन्त्रालयको टोलीले औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको उनले बताए । औद्योगिक ग्राम निर्माणका क्रममा आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाएर अघि बढेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x