उकासिन सकेन पोखराको पर्यटन, २० प्रतिशतभन्दा बढी व्यवसायी विस्थापित
पोखरा, ३ मंसिर । कोभिड नियन्त्रणका लागि गरिएको लकडाउन खुलेको लामो समय भइसक्दा समेत पोखराको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन सकेको छैन । दशैं, तिहारको समयमा केही मात्रामा आन्तरिक पर्यटक आए पनि कोरोनाको उच्च जोखिम रहेकाले पर्यटन व्यवसायीले सहज रूपमा सेवा प्रवाह गर्न सकेका छैनन् ।
यसैगरी पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीयस्थल समेत नखुल्दा थप समस्यामा परेको राससमा उल्लेख छ । कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर नेगेटिभ अनिवार्य गराएको छ । यस्तै कास्कीको मर्दी हिमाल पदयात्रामा जाँदा पिसिआर रिपोर्ट नेगेटिभ पेश गर्नुपर्ने नियम छ । पोखरा हुँदै जाने धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ समेत दर्शनार्थीका लागि अहिले बन्देज छ ।
यतिबेला मौसम राम्रो भए पनि व्यवसायी भने उत्साहित हुन नसकेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । महामारीमा व्यवसायीले सरकारबाट केही आशा गरेकोमा सरकारले आफैले ल्याएको मौद्रिक नीति समेत कार्यान्वयन गर्न नसकेको गुनासो उनको छ । यस्तै प्रदेश सरकारले भनेको कुरा कतै लागू नहुने र स्पष्ट नीति नियम नहुदा सबैले आफूखुशी पर्यटनमा रोक लगाएको उनले बताए ।
पोखराको पर्यटन चलायमान हुन पोखरा मात्र खुलेर नहुने, आसपासका घान्द्रुक र धम्पुसका लगायतका स्थान समेत खुल्नुपर्ने उनको भनाइ छ । सरकारले व्यवसायीलाई साथ नदिँदा पोखरामा २० देखि ३० प्रतिशत व्यवसायी विस्थापित भइसकेको उनले बताए । पोखराभित्रका पर्यटकीय गन्तव्य पनि सुरक्षित रूपमा खोल्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड छ ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका पूर्वसदस्य बासु त्रिपाठीले पर्यटन सम्बन्धी मूल कानून र स्पष्ट नीति अभावमा स्थानीय तहले आ–आफै नियम बनाउँदा पर्यटकले खुला रूपमा घुम्न डुल्नबाट बञ्चित हुनुपरेको बताए । संघीय सरकारले आफू मातहतका निकायलाई निर्देशन जारी गरेर आवश्यक मापदण्ड पालना गर्न लगाउनुपर्ने उनको भनाइ छ । प्याराग्लाइडिङ उडेर मात्र पोखराको पर्यटन नधानिने भन्दै उनले सरोकारवाला सबैको साझा धारणा सहित एउटै पर्यटन नीतिको आवश्यकता औंल्याए ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका केही होटल सञ्चालन भए पनि अन्य पर्यटकीय गतिविधि र गन्तव्य खुला नहुँदा समस्या भएको बताए । पोखराका होटल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही, डेभिज फल्स, चमेरे गुफा, विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका स्थल एवं घान्द्रकु, धम्पुसलगायत पर्यटकीय गन्तव्य खुल्न नसक्दा पर्यटकीय गतिविधि बढ्न नसकेको उनको भनाइ छ । टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले कुनै ठाउँमा बन्द कुनै ठाउँमा खुल्ने गर्दा पर्यटनलाई अन्योल भएको बताए । राज्यले ल्याएको नीति पनि कार्यान्वयन हुन नसक्दा व्यवसायीलाई निराश बनाएको उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाका अनुसार पोखराको पर्यटन क्षेत्रमा रू. १ खर्ब ९२ अर्ब लगानी रहेको छ । यस क्षेत्रमा ७५ हजारले रोजगार पाएका छन् भने अहिले पोखराको पर्यटनले हाल दैनिक रू. १३ करोड ३६ लाख घाटा व्यहोरिरहेको छ ।