पछिल्लो राजनीतिक घटनाक्रममा सुझबुझपूर्ण कदम चाल्न नेपाल समुद्रपार निकासी पैठारी संघको आग्रह
काठमाडौं, ६ पुस । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले चिन्ता व्यक्त गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै संघले संघीय संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणाबाट मुलुकमा राजनीतिक अस्थिरता बढ्ने र आर्थिक मुद्दा ओझेलमा पर्न सक्ने खतरा औंल्याउँदै मुलुकको व्यावसायिक वृत्तलाई समेत यले गम्भीर रुपमा चिन्तित बनाएको बताएको छ ।
राजनीतिक अस्थिरताले तल्लो तहका नागरिक मात्र नभई मध्यम आय स्तर भएका नागरिकमा समेत नकरात्मक असर पर्न जान सक्ने प्रति समेत आफ्नो ध्यानाकर्षण भएको संघले बताएको छ । लामो समयको राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण मुलुकले आर्थिक समृद्धितर्फ अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमबाट त्यो आर्थिक समृद्धिको जनचाहनामा तुषारापात भएको संघको ठहर छ ।
यसले समृद्धिको सपना नारामै सीमित हुने आशंका बढेको संघले बताएको छ । गम्भीर वास्तविकतालाई ध्यानमा राख्दै सुझबुझ पूर्ण तरिकाले अघि बढ्न तथा आर्थिक मुद्दालाई राजनीतिक दाउपेचको सिकार हुन नदिन सरोकारवाला सबैमा संघले अपिल गरेको छ ।