Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल लाइफ इन्स्योरेन्समा १ लाख लगानी गर्नेको सम्पत्ति १९ वर्षमै पुग्यो ५ करोडभन्दा बढी

नेपाल लाइफ इन्स्योरेन्समा १ लाख लगानी गर्नेको सम्पत्ति १९ वर्षमै पुग्यो ५ करोडभन्दा बढी

काठमाडौं, १६ पुस । नेपाल लाइफ इन्स्यारेन्सको स्थापनाकालमा १ लाख लगानी गर्ने शेयरधनीको सम्पत्ति १९ वर्ष अवधिमै हाल ५ करोड रुपैयाँभन्दा बढी पुगेको पाइएको छ । कम्पनीले प्रदान गरेको प्रतिफलको आधारमा कम्पनी स्थापनाका बेला सन् २००१ मा १ लाख रुपैयाँ लगानी गर्नेको सम्पत्ति अहिले ५ करोड १८ लाख रुपैयाँभन्दा बढी भएको हो ।
कम्पनीले स्थापनाको ८ वर्षपछि २००८ मा शेयरधनीलाई २० प्रतिशत बोनस शेयर, सन् २००९ मा २५ प्रतिशत हकप्रद शेयर, सन् २०१२ मा ७० प्रतिशत बोनस शेयर, सन् २०१३ ७० प्रतिशत नै बोनस शेयर दिएको थियो ।
यस्तै सन् २०१४ मा ६० प्रतिशत, सन् २०१५ मा २५ प्रतिशत, सन् २०१६ मा२५ प्रतिशत र सन् २०१७ मा कम्पनीले ४२ प्रतिशत बोनस शेयर दिएको थियो । यी सबै बोनस शेयरपछि शुरूमा १ हजार कित्ता शेयर हुनेको शेयर १५ हजार ३ सय ८९.२५ कित्ता पुगेको थियो ।
यस्तै सन् २०१८ मा कम्पनीले २५ प्रतिशत बोनस शेयर दिएपछि १ हजार कित्ता शेयर हुने व्यक्तिसँग कुल १९ हजार २ सय ३६.५६ कित्ता शेयर पुग्यो । सन् २०१९ मा कम्पनीले ३१ प्रतिशत बोनस शेयर दिएको छ । यो वितरणपछि शुरुवाती अवस्थामा एक हजार कित्ता शेयर हुने व्यक्तिसँग अब कुल २५ हजार २ सय कित्ता शेयर पुग्नेछ ।
हाल कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । औसतमा प्रतिकित्ता २ हजार रुपैयाँलाई आधार मान्दा कम्पनीमा शुरूमा १ लाख रुपैयाँ लगानी गरी १ हजार कित्ता शेयर लिनेसँग अहिले २५ हजार २ सय कित्ता शेयर पुगेको छ । बिहीवारको शेयर मूल्य अनुसार उक्त संख्याका शेयरको कुल मूल्य ५ करोड ४ लाख रुपैयाँ हुन्छ ।
यस्तै हाल १ हजार कित्ता शेयर हुनेले कम्पनीबाट विभिन्न वर्षमा गरी नगद लाभांश नै १४ लाख २० हजार रुपैयाँ बराबर पाएका छन् । यो समेत जोड्दा कम्पनीको १ हजार कित्ता शेयर किन्नेको सम्पत्ति हालसम्म ५ करोड १८ लाख रुपैयाँभन्दा बढी पुगेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x