सिवाईसी र शालिग्रामसँग आरम्भ चौतारीको मर्जर सम्झौता रद्द, बिपिडब्लु र देउराली लघुवित्तलाई प्राप्ति गर्ने
काठमाडौं, २२ पुस । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच भएको मर्जर सम्झौता रद्द भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने प्रारम्भिक सम्झौता भएपछि असोज ११ गतेदेखि कारोबार रोकिएको भएपनि उक्त संस्थाहरुको मर्जर समितिको पुस ७ गते बसेको बैठकको निर्णयले प्रारम्भिक सहमति पत्र रद्द गरेको राष्ट्र बैंकलाई जानकारी गराएको छ ।
यस्तै, आरम्भ चौतारी लघुवित्तले बनेपामा केन्द्रिय कार्यालय रहेको बिपिडब्लु लघुवित्त र बुटवलमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। संस्थाको सञ्चालक स्तरीय मर्जर समितिको सिफारिसमा पुस १० गते उक्त दुई संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
हाल आरम्भ चौतारीको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ लाख रुपैयाँ, बिपिडब्लु लघुवित्तको २ करोड ३ लाख र देउराली लघुवित्तको २ करोड ४० लाख रुपैयाँ रहेको छ । बिपिडब्लु र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि संस्थाको चुक्तपूँजी ३० करोड ७७ लाख ४८ हजार रुपैयाँ पुग्ने छ ।