तीन हप्ता बन्द गरिँदै तातोपानी नाका, नेपाली अधिकारीलाई छैन जानकारी

सिन्धुपाल्चोक, २६ पुस । सञ्चालनमा आएर पनि सहज हुन नसकिरहेको तातोपानी नाका पुनः करिब तीन हप्ता बन्द हुने भएको छ । बाढीले क्षति पुर्याएको नेपाल–चीन मितेरी पुलको जग मर्मतका लागि भन्दै खासा प्रशासनले २० दिनका लागि यो बन्द गर्न लागेको बताइएको छ ।
बर्खाको बाढीका साथै तिब्बतको न्यालममा रहेका विभिन्न तालमा जमेको पानी खोल्दा बढेको भोटेकोशीको बहावले यसअघि मितेरी पुलको दुवैतर्फको जगमा क्षति भएको थियो ।
खासास्थित तिब्बत डिपार्टमेन्ट अफ कमर्श फरेन ट्रेडले २० जनवरीदेखि २० दिन नाका बन्द गर्न लागिएको बताएको छ । मितेरी पुल मर्मतका लागि नाका बन्द हुने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई गराएको छ । यसबारे नेपाली सरकारी अधिकारीहरूलाई भने आधिकारिक जानकारी नै नभएको पाइएको छ ।
नाका बन्द हुनेबारे चिनियाँ पक्षबाट आधिकारिक जानकारी नआएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । यस्तै तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पनि पुल बनाउने खबर भए तापनि नाका बन्द हुनेबारे आधिकारिक सूचना नआएको बताए । दुई देशबीचको सीमाक्षेत्र भएकाले दुईपक्षीय छलफलबाट निर्णय हुनुपर्नेमा त्यसको आधिकारिक पत्र नआएको उनको भनाइ छ ।
यद्यपि हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने नाका बन्द हुने खबर आपूmहरूले पाएको बताए । खासाको जाङ्मु प्रशासनले मितेरी पुल मर्मत गर्न नाका बन्द गर्न लागिएकाले चीनतर्फ रोकिएका कन्टेनर छिटो नेपाल भित्र्याउनु भन्ने आशयको खबर पठाएको उनको भनाइ छ ।
लामो समयदेखि खासा र न्यालम क्षेत्रमा अड्किएर बसेका सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी बन्द हुन सक्ने अनुमान गरिएको छ ।
२०७२ सालको भूकम्पपछि पटक पटक बन्द हुँदै खुल्दै आएको तातोपानी नाका १० साताअघि सञ्चालन भए पनि पर्याप्त सामग्री नआउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।