स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २६ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन ।
स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे ।
यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि मन्त्री पौडेलले आग्रह गरे ।