करिब ५ खर्ब पुग्यो सहकारीको बचत, सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान : अर्थमन्त्री
काठमाडौं, २८ पुस । मुलुकभर सञ्चालित सहकारी संस्थाको बचत संकलन करिब ५ खर्ब रुपैयाँ पुगेको छ । सहकारी विभागको अध्ययन प्रतिवेदनका अनुसार सहकारीको बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख रुपैयाँभन्दा बढी छ ।
यसबाट सहकारीहरूले रू. ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ऋण लगानी गरेको पाइएको छ । उक्त प्रतिवेदनका अनुसार सहकारीको कुल शेयर पूँजी भने ९४ अर्ब १० करोड ५० लाख रहेको छ । सहकारी संस्थामा ८८ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको समेत प्रतिवेदनमा उल्लेख छ ।
यसबीच, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रूपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने बताएका छन् । सोमवार राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन उनले आग्रह गरेका छन् । ‘सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई एउटै टेबलमा बसेर समाधान गर्न तयार छौं । त्यसका लागि तपाईंहरू तयार हुनुहोला,’ उनले भने ।
मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताए ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरिन् ।