Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अनुचित व्यापारिक कारोबार बढ्दै, एक महिनामै सयभन्दा बढी फर्म कारबाहीमा

अनुचित व्यापारिक कारोबार बढ्दै, एक महिनामै सयभन्दा बढी फर्म कारबाहीमा

काठमाडौं, १४ माघ । पछिल्लो समय उपभोक्ता बजारमा अनुचित व्यापारिक गतिविधि बढेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महीनामा १०० भन्दा बढी फर्मलाई कारबाही गर्नुले उपभोक्ता हित विपरित व्यापारिक कारोबार बढेको देखिन्छ । विभागले अनुचित व्यापारिक कारोबार गरेको भन्दै पुस महिनामा १०९ फर्मलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार एक महीनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ ओटा फर्मको अनुगमन गरिएको थियो ।

तिनमा १६८ ओटा फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र १ लाख ३३ हजार रुपैयाँभन्दा बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना संकलन गरिएको बताइएको छ ।

एक महीनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको उनले बताए । यस्तै १०६ ओटा खाद्यान्न पसलको अनुगमन गर्दा २७ ओटा फर्म अनुचित व्यापारिक कारोबारमा संग्लन भएको पाइएपछि कारबाही गर्दा ४४ लाख ५ हजार राजस्व संकलन भएको छ ।

यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ ओटा फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजार बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीद विक्री बिल नराख्ने फर्मलाई ५ हजारदेखि ३ लाख रुपियाँसम्म जरिवाना गरिएको विभागले बताएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x