रसुवागढी आयोजनाको प्राविधिक काममा ढिलाइ
रसुवा, ६ माघ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको प्राविधिकतर्फका काममा ढिलासुस्ती हुँदै गएको छ । इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक नफर्किंदा विद्युत् उत्पादनका प्राविधिक उपकरण जडान कार्य ठप्प भएको आयोजनाले बताएको छ ।
।
उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्युत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसके पनि प्राविधिकतर्फको काममा ढिलाइ भएको छ ।
आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नु पर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको भन्दै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताएको राससमा उल्लेख छ । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको बताइएको छ ।
आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्राय पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रू सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्यांकको निर्माण भइरहेको छ । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदूर कार्यरत छन् । तीमध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले बताएको छ ।