Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अर्थले थाल्यो आगामी बजेट निर्माणको गृहकार्य, कोभिडपछिको आर्थिक पुनरुत्थानमा जोड

अर्थले थाल्यो आगामी बजेट निर्माणको गृहकार्य, कोभिडपछिको आर्थिक पुनरुत्थानमा जोड

काठमाडौं, ६ फागुन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८÷८९ को बजेट निर्माणका लागि गृहकार्य शुरू गरेको छ, जसअन्तर्गत मन्त्रालयले बुधवार पूर्व अर्थसचिवहरूसँग छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा पूर्व अर्थसचिवहरूले कोभिड–१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्र पुनरुत्थान गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाएका छन् । स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन समेत उनीहरूले आग्रह गरेका छन् ।
छलफलमा पूर्व मुख्यसचिव तथा अर्थसचिव डा. विमल कोइरालाले कोभिड–१९ र निर्वाचनको घोषणाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा नयाँ चुनौती थपेको बताए । बजेट निर्माण गर्दा आर्थिक परिसूचक र विभिन्न प्राविधिक विषयको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिनु उपयुक्त हुने उनले सुझाए ।

पूर्वमन्त्री एवं अर्थसचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने औंल्याए । निजी लगानी विस्तारका आवश्यक वातावरण सृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिए । प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यौदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मूल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने धारणा उनले राखे । यस्तै पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले कोभिड–१९ लाई अवसरका रूपमा लिएर कोभिड–१९ जे जुन जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्नेगरी बजेट ल्याउन जरुरी रहेको औंल्याए ।

पूर्व अर्थसचिव सुमनप्रसाद शर्माले आगामी आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा खर्च बढाउन सुझाव दिए । पूर्व अर्थसचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वधार निर्माणलाई कटौती गर्न जरुरी रहेको बताए ।

यसैगरी पूर्व अर्थसचिव शंकरराज अधिकारीले आर्थिक वृद्धि र त्यसका लागि निजी एवं निजी–सरकारी साझेदारीमा विशेष जोड दिए । अर्का पूर्व अर्थसचिव डा. राजन खनालले समयमै सुधार गर्न नसकिए सार्वजनिक संस्थान मुलुकका लागि निकै ठूलो बोझ बन्ने अवस्थातर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गरे । साथै पूर्व अर्थसचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले छलफल कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यबारे बताउँदै आगामी दिनमा पनि खासगरी नीतिगत, कार्यक्रमिक एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा यसप्रकारका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x