साताको पहिलो दिन पनि रोकिएन नेप्सेको ओरालो यात्रा, करिब ५ अर्बको कारोबार
काठमाडौं, १ चैत । गत हप्ता कारोबारमा आएका सबै दिन घट्दो क्रममा रहेको शेयर बजारले यस साताको आइतवार पनि सोही क्रम पछ्याएको छ । यस दिन नेप्से परिसूचक २.२४ प्रतिशतले घटेर २४०४.२५ अंकमा थामिएको छ ।
यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत २.२७ प्रतिशतले घटेर ४३५.१३ अंकमा ओलिएको छ ।
आइतवार कारोबारमा आएका १२ ओटा समूहमध्ये दुई समूह (होटल तथा टुरिजम र हाइड्रोपावर)को परिसूचक मात्र बढेको छ । यी दुई समूहको परिसूचक क्रमशः २.५४ र २.३२ प्रतिशतले बढेका हो ।
यस दिन २११ कम्पनीको करोड ९० लाख ३ हजार ७०४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसमध्ये अपर तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा छ । कम्पनीको शेयर ४४ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ । कारोबारको दोस्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । धेरै पटक शेयर कारोबार हुने कम्पनीमा पनि निफ्रा नै रहेको छ । कम्पनीको शेयर एकै दिन ७ हजार ८२४ पटक किनबेच भएको छ । दोस्रो भने अपर तामाकोशी नै रहेको छ, जसको शेयर ३ हजार ९०२ पटक कारोबार भएको छ ।
यस दिन चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनी शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै अपर तामाकोशीको शेयर मूल्य पनि झण्डै ९ प्रतिशतले बढेको छ ।
आइतवार हिमालय पावर पार्टनर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य एकैदिन करीब ९ प्रतिशतले घटेको छ । यस्तै नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य पनि झण्डै ८ प्रतिशतले घटेको छ ।