रासायनिक मल कारखाना : समितिले बुझायो प्रतिवेदन, १ खर्ब ३ अर्बमा खोल्न सकिने निष्कर्ष
काठमाडौं, २ चैत । नेपालमा रासायनिक मल कारखाना स्थापना तथा सञ्चालन सम्भावनाको सम्बन्धमा गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सो सम्बन्धमा गठित प्रारम्भिक समितिका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालसहितको टोलीले आइतवार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अध्ययन प्रतिवेदन तथा त्यसको निष्कर्ष प्रस्तुत गरेको हो । प्रतिवेदनमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना एवं सञ्चालन गर्न सकिने उल्लेख छ ।
उक्त समितिले तयार पारेको प्रतिवेदनले प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना खोल्न शुरुवाती लगानी १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । तर थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना वातावरणीय लगायत कारण उपयुक्त नहुने समितिले सुझाएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तत्कालका लागि प्राकृतिक ग्यास प्रविधिमा जान उपयुक्त हुने देखिए पनि कच्चा पदार्थ नेपालमा उपलब्ध हुने भएकाले वाटर इलेक्ट्रोसिस प्रविधिबारे पनि विस्तृत अध्ययन गर्न जरुरी भएको बताए थिए ।
समितिले गत असोज अन्तिम साता तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले नेपालमा मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन गर्न सुझाएको थियो ।