Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विदेशी विनिमय सञ्चिति १३ महिनाको वस्तु आयात धान्न पर्याप्त

विदेशी विनिमय सञ्चिति १३ महिनाको वस्तु आयात धान्न पर्याप्त

काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको माघ महिनासम्ममा मुलुकको बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चितिले १३.१ महिनाको वस्तुको आयात धान्ने देखिएको छ । आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक अनुसार सो अवधिमा विदेशी विनिमय सञ्चिति रु. १४६२ अर्ब ३ करोड पुगेको छ । २०७७ असार मसान्तमा रु. १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७ महिनामा ४.३ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु. १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई रु.१२८७ अर्ब ५० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१७४ अर्ब ५३ करोड कायम भएको छ । २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.१ प्रतिशत, ९८.९ प्रतिशत र ३१.३ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.५ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x