पुनर्कर्जाबापत १ खर्ब ४२ अर्ब स्वीकृत, १ खर्ब लगानीमा
काठमाडौं, ८ चैत । बैंक तथा वित्तीय संस्थाको आवेदनको आधारमा पुनर्कर्जाबापत हालसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ स्वीकृत भएको नेपाल राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार स्वीकृत भएको उक्त कर्जामध्ये १ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा प्रवाह भइसकेको छ ।
राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ माघ मसान्तमा ८२ अर्ब २९ करोड लगानीमा थियो ।
पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड मात्र रहँदै आए पनि सरकारले चालू आवमा कोभिड महामारीका कारण यसको ५ गुणा अर्थात् २ खर्ब १२ अर्ब बराबरको यस्तो कर्जा दिने घोषणा गरेको थियो ।
यसैगरी सहुलियतपूर्ण कर्जाका लागि सरकारले यस वर्ष बीमासहित १३ अर्ब रुपैंयाँ अनुदान छुट्याएको छ । केन्द्रीय बैंकका अनुसार गत माघ मसान्तसम्ममा ६८ हजार २०६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएर १ खर्ब १२ अर्ब ३ करोड कर्जा बक्यौता छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८१३ ऋणीलाई ८२ अर्ब १८ करोड कर्जा प्रभाव भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड कर्जा बक्यौता छ ।