बैंकहरूले प्रिपेड डलर कार्ड जारी गर्न सक्ने
काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले हिजो एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी डलर वा उक्त बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न बाटो खुला गरेको हो ।
यस्तो कार्डको सुविधा ग्राहकहरूले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत प्राप्त गर्न सक्नेछन् । यो सूचनाले बैंकहरूलाई यस्तो कार्ड जारी गर्न बाटो खुला भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत नेपालबाट अनौपचारिक रूपमा भुक्तानी भइरहेकाले यसलाई औपचारिक प्रणालीमा ल्याउन यस्तो सुविधा दिएको हो । यसबारे चालू आवको मौद्रिक नीतिले समेत जोड दिएको थियो ।
अनलाइनका माध्यमबाट विदेशको विभिन्न तालीम लिनेलगायतको सानातिना कामका लागि विदेशी मुद्रा तिर्न समस्या भएकाले अनौपचारिक रूपमा यस्तो भुक्तानी हुने गरेको छ । यसलाई सहज बनाउन खोजेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागको बताएको छ । बैंकहरूले प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्ने छन् ।
ग्राहकको अनुरोध अनुसार कार्डमा निवेदन गरेको दिनको विनिमय दरका आधारमा अधिकतम ५ सय अमेरिकी डलर वा त्यो बराबरको अन्य विदेशी मुद्रा जम्मा गर्न सक्ने छन् ।