निर्माणस्थल खाली गरेर मात्रै आयोजना अघि बढाउन संसदीय समितिको निर्देशन
काठमाडौं, १२ चैत । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले यसअघि नै सोही विषयमा निर्देशन दिएकाले त्यसको कार्यन्वयन गर्न भन्दै शहरी विकास मन्त्रालयलाई पुनः निर्देशन गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले भक्तपुरको हनुमन्ते करिडोरमा उल्लेखनीय प्रगति भएको देखिए पनि सूर्यविनायक नगरपालिका–२ र मध्यपुर ठिमी नगरपालिका–३ मा देखिएको अवरोध र जनताका समस्या समाधान निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले निकास निकाल्न स्थानीयस्तरमा समन्वय गर्नुपर्ने बताइएको छ । हनुमन्ते करिडोर निर्माणमा जनताको जग्गा समेत पर्ने भएकाले संविधानले व्यवस्था गरेको सम्पत्तिको हक संरक्षण गरेर जग्गा एकीकरण योजनामार्फत सो हकको सुरक्षित गर्न पनि समितिले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति कल्याणीकुमारी खड्काले कुनै पनि आयोजनामा पहिले पूर्वतयारीको काम पूरा नगरी ठेक्का सम्झौतामा जान नहुने बताइन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रवीन्द्र बोहराले निर्माणस्थल खाली हुँदा निर्माण व्यवसायीले तोकिएको अवधिमा काम गरिसक्ने बताए ।
भक्तपुर–२ का सांसद महेश बस्नेतले अहिले सागबारी र सुन्दर बस्तीबाहेक अरु ठाउँमा ठूलो समस्या नभएको बताए । समितिका सदस्य जीपछिरिङ लामाले कुनै पनि आयोजना निर्माण पहिले स्थानीयवासीलाई पर्ने असरका बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।
समितिका सदस्य दामोदर भण्डारीले हनुमन्ते करिडोर निर्माणभन्दा पहिले एकीकृत जग्गा योजनालाई अघि बढाउनुपर्ने धारणा राखे । समितिका सदस्य सञ्जयकुमार गौतमले आयोजनाका विषयमा पहिले नै पर्याप्त छलफल नभएको पाइएको बताए ।