Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

राष्ट्रिय जनगणना-२०७८ : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारे विवरण संकलन गरिँदै

राष्ट्रिय जनगणना-२०७८ : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारे विवरण संकलन गरिँदै

काठमाडौं, २६ चैत । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्यांक संकलन गरिँदै छ ।

यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपांगतासम्बन्धी विस्तृत विवरणसमेत संकलन गर्ने तयारी भइरहेको छ । तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले यो पटकको जनगणना कार्य यसअघिका जनगणनाको तुलनामा फरक र विस्तृत ढंगले गर्न लागिएको बताएको राससमा उल्लेख छ ।

जनगणनाका क्रममा सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्यांक संकलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, वडाको प्रमुख राजस्वको स्रोत, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति, वन्यजन्तु, जंगली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत संकलन हुँदै छ ।
सामुदायिक प्रश्नावलीको उत्तरदाताका रूपमा वडाध्यक्ष वा वडासचिव रहनेछन् । गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदै छ । राष्ट्रिय जनगणना, २०७८ देशभरका घर दैलोमा निश्चित समयभित्र पुगी सबै घर, परिवार तथा व्यक्तिको विवरण संकलन गर्ने र संकलित तथ्यांकको प्रशोधन एवं प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा पहिलोपटक जनगणना १९६८ देखि शुरू भएको हो ।

२०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौं तथा देशमा संघीय व्यवस्था पछिको पहिलो जनगणना हो । राष्ट्रिय जनगणना कार्य वा तथ्यांक संकलनको कार्य दुई चरणमा सञ्चालन हुँदै छ । पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घरलगायतको विवरण र दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घर परिवार तथा व्यक्तिको जनसांख्किलगायत विवरण संकलन गर्ने तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x