Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी मूल्यमा विद्युत् आयात शुरू

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी मूल्यमा विद्युत् आयात शुरू

काठमाडौं, १९ वैशाख । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । यसअघि सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकोमा प्राधिकरणले शनिवार राति १२ बजेदेखि २ सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्पmत खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिएको बताएको छ ।

केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न प्राधिकरणले अनुमति पाएको थियो । यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्जको डे अहेड विधिअनुसार विद्युत् बुकिङ गर्दा प्रत्येक १५ मिनेटको स्लटका लागि छुट्टाछुट्टै शुल्कअनुसार दाबी गर्न सकिन्छ । नेपालले यही विधिअनुसार बुकिङ गर्दा शनिवारभरका लागि सबै शुल्क जोडेर औसतमा प्रतियुनिट ३ रुपियाँ ८१ पैसा भारतीय रुपैयाँमा बिजुली किन्न पाएको प्राधिकरणले बताएको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिदविक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ ।

एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्र प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएपछि आन्तरिक रूपमा खपत गरेर जगेडा भएको विद्युत् भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् विक्रीका लागि पनि थप सहज हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x