Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतको अनौपचारिक मन्त्रीस्तरीय सम्मेलनमा ४५ वाणिज्यमन्त्री, विश्व व्यापार संगठनलाई प्रभावकारी बनाउने प्रतिवद्धता

भारतको अनौपचारिक मन्त्रीस्तरीय सम्मेलनमा ४५ वाणिज्यमन्त्री, विश्व व्यापार संगठनलाई प्रभावकारी बनाउने प्रतिवद्धता

काठमाडौं, ७ चैत्र । भारतको नयाँ दिल्लीमा मार्च १९ र २० मा आयोजना गरिएको विश्व ब्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठक विश्व व्यापार प्रणालीमा वार्ताको क्रममा रहेका विषय र नयाँ मुद्दाको सम्वन्धमा छलफल गरी सम्पन्न भएको छ । उक्त मन्त्रीस्तरीय सम्मेलनमा ४५ सदस्य राष्ट्रका वाणिज्यमन्त्री तथा उच्चस्तरका प्रतिनिधिहरु साथै विश्व व्यापार संगठका महानिर्देशकको सहभागिता रहेको थियो । उक्त बैठकलाई नेपालकोतर्फबाट सम्वोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विश्व व्यापार संगठनलाई सबै सदस्य मुलुकहरुको निमित्त सान्दर्भिक र उपयोगी तुल्याउन ती मुलुकहरुको व्यापार र विकासको अवस्था अनुसार विशेष र फरक व्यवहारका साथै लक्षित कार्यक्रमहरु लागू गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल जस्ता सीमित उत्पादन क्षमता भएका अतिकम विकसित भूपरिबेष्ठित सदस्य राष्ट्रहरुले विभिन्न प्रकारका गैर–कर अवरोधहरु सामना गर्नु परेको र केवल अरुको निमित्त निर्वाध बजार बनिदिनु परेको अवस्था बारेमा उल्लेख गर्दै मन्त्री यादवले विश्व व्यापार प्रणालीमा सुधारका लागि विगतका विभिन्न बैठकमा भएका निर्णय र घोषणाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, विकासशील र अति कम विकसित मुलुकहरुको हित संरक्षण गर्न गम्भीरतापूर्वक कदम चाल्नु पर्ने, व्यापार सम्वन्धी नयां विषयहरु उठान गर्दा अतिकम विकसित देशहरुको निमित्त विशेष व्यवस्था गर्ने, यस्ता विषयहरु सहमतिका आधारमा अघि बढाउने, बहुपक्षीय व्यापार प्रणालीका विवाद समाधान लगायतका स्तम्भहरुको सम्वद्र्धन गर्ने र नियममा आधारित स्वतन्त्र र स्वच्छ विश्व व्यापार प्रणालीबाट साना–ठूला, धनी–गरिब सबै मुलुकहरुले समान किसिमले लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने विषयमा विशेष जोड दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बैठकमा मुख्य रुपमा यसअघि एघारौ मन्त्रिस्तरीय बैठकमा निर्णय हुन नसकेका विषय र विश्व व्यापार संगठनको विवाद निरुपण संयन्त्रमा सदस्य नियुक्तिको अवरुद्ध प्रक्रियालाई अघि बढाउने बारेमा विभिन्न ४५ मुलुकका उद्योग तथा वाणिज्यमन्त्रीहरुले आआफ्नो धारणा राखेका थिए ।
बैठकको समापन गर्दै आयोजक राष्ट्र भारतका उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभुले सदस्य राष्ट्रहरुले उक्त बैठकमा व्यक्त गरेका विचारहरुले विश्व व्यापार संगठनका अनिर्णित र समाधान गर्न बांकी रहेका विषयहरुलाई टुंग्याउन मार्गदर्शन प्रदान गर्ने र विश्व व्यापार संगठनलाई सवलीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी वाणिज्यमन्त्रीहरुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्वोधन गरेका थिए । भारत भ्रमणका क्रममा मन्त्री यादवले समकक्षी प्रभु, विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटघाट गरेको वाणिज्य मन्त्रालयले जनाएको छ । समकक्षी प्रभुसँगको भेटमा मन्त्री यादवले द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका सम्बन्धमा समेत कुराकानी गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x