निर्यात व्यापारमा भटमास तेल : ३१.८१ अर्बको कच्चापदार्थ आयात, २८.३१ अर्बको निकासी
काठमाडौं, ४ जेठ । विगत वर्षदेखि नै नेपालबाट निर्यात हुने वस्तुको अग्रस्थानमा भटमासको तेल रहेको छ । यसअघि उच्च स्थान ओगट्ने पाम आयलमा भारतको प्रतिबन्धपछि त्यसको स्थान भटमासको तेलले लिएको हो । मुलुकको निर्यात व्यापारमा करिब एक तिहाइ हिस्सा यसैले धानेको तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दै नेपाल राष्ट्र राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपालबाट सबैभन्दा धेरै अर्थात् २८ अर्ब ८१ करोड बराबरको भटमासको तेल निर्यात भएको छ, जुन कुल निर्यातको ३०.४ प्रतिशत हो । गतवर्षको सोही अवधिको तुलनामा भटमासको तेलको निर्यात २६८ प्रतिशतले बढेको छ ।
नेपालबाट निर्यात भएको भटमासको तेल आन्तरिक उत्पादन भने होइन । विदेशबाट भटमासको कच्चा तेल आयात गरी सामान्य प्रशोधनपछि नेपालबाट निर्यात हुने गरेको हो ।
तथ्यांक अनुसार चैतसम्ममा नेपालले ३१ अर्ब ८१ करोड रुपैयाँको भटमासको कच्चापदार्थ विभिन्न मुलुकबाट आयात गरेको देखिन्छ । आयात गरिएको कच्चा तेलको केही हिस्सा मुलुकमै खपत भएर बाँकी निर्यात गरिएको हो । यी वस्तु नेपालबाट निर्यात गर्दा महशुल लाग्दैन । आयात महशुल पनि तुलनात्मक रूपमा थोरै लाग्छ ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दा महशुल नलाग्ने भएकाले धेरै नाफा गर्न सकिन्छ । सोही कारण व्यवसायी कच्चा पदार्थ ल्याएर प्रशोधन गरी निर्यातमा आकर्षित भएका हुन् । नेपाली व्यवसायीले ब्राजिल, अजेन्टिना, सिंगापुर, मलेशिया लगायत तेस्रो मुलुकबाट भटमासको कच्चा पदार्थ आयात गर्ने गरेका छन् ।