Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

४७ अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

४७ अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, १६ जेठ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकमा वैदेशिक लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ अर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयका अनुसार वैशाख मसान्तसम्ममा कुल रू. २ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

गत आर्थिक वर्षको १० महिनामा नेपालमा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

मन्त्रालयका अनुसार चालू आवको १० महिनासम्ममा गतवर्षको सोही अवधिको तुलनामा सरकारी खर्चमा १६ प्रतिशत र राजस्व संकलन १४.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण गतवर्षको पहिलो १० महिनाको तुलनामा १५.७ प्रतिशतले वृद्धि भई रू. २ खर्ब ९४ अर्ब ३३ करोड पुगेको छ । प्रदेश र स्थानीय तहमा रू. ९१ अर्ब ४७ करोड राजस्व बाँडफाँट भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा निर्यात २०.२ प्रतिशतले र आयात १३.१ प्रतिशतले बढेको छ । व्यापार घाटामा कमी आई शोधनान्तर स्थिति रू. ४२ अर्व ५४ करोड बचतमा रहेको छ । विदेशी मुद्राको सञ्चिति रू. १४ खर्ब ३३ अर्व २७ करोड पुगेको छ ।
गत आर्थिक सोही अवधिमा निर्यात १२.९ प्रतिशतले बढेको थियो भने आयात ७.५ प्रतिशतले घटेको छ । यसबाट व्यापार घाटा कम हुनुको साथै शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भई ३६ अर्ब ६१ करोड शोधनान्तर बचत भएको थियो । यस्तै विदेशी मुद्रा सञ्चिति १ खर्ब १७ अर्बले वद्धि भई ११ खर्ब ५६ अर्ब पुगेको थियो ।

चालू आवमा कुल विनियोजनको ८५.९ प्रतिशत खर्च हुने संशोधित अनुमान मन्त्रालयको छ । विनियोजन मध्ये चालुतर्फ ९१.४ प्रतिशत, पुँजीगत तर्फ ७१.३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ८५.२ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ ।

यसैगरी चालु आर्थिक वर्ष वार्षिक लक्ष्यको तुलनामा ९४.८ प्रतिशत राजस्व संकलन हुने अनुमान छ । वैदेशिक अनुदान रू. २७ अर्ब ६ करोड र वैदेशिक ऋण रू. १ खर्ब ६५ अर्ब १० करोड परिचालन हुने संशोधित अनुमान छ । आन्तरिक ऋणतर्फ रू. २ खर्ब २३ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x