बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ताको आकर्षण, १६ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २० जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक २८५६.६७ विन्दुमा पुगेर बन्द भएको छ । आज परिसूचक २९.५५ अंक बढेर बन्द भएको हो ।
आज कारोबार रकममा पनि उत्साह छाएको छ । २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख रुपैयाँमा खरिद विक्री भएको छ । गत आइतबार १७ अर्ब २ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
बढेको बजारमा सर्वाधिक रुपैयाँको हिस्सा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रहेको छ । यो कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।
आज मन्जुश्री फाइनान्स लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मन्जुश्रीको शेयर मूल्य ८२५ रुपैयाँ कायम भएको छ । त्यस्तै महिला लघुवित्तको ४ हजार ७५२ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसुचक वृद्धि भएको छ ।