निषेधाज्ञामै भित्रियो २ लाख किलोलिटरभन्दा बढी पेट्रोल तथा डिजेल
काठमाडौं, २७ जेठ । दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकका ७५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवा बन्द रहे पनि आयातमा पनि यसको असर परेको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुमा पर्ने डिजेल तथा पेट्रोलको आयात पनि नियमित रूपमा भइरहेको छ । मन्त्रालयको सोमवार (२४ गते)सम्मको तथ्यांक अनुसार यी दुई पेट्रोलियम पदार्थ २ लाख किलोलिटरभन्दा बढी आयात भएको छ । निषेधाज्ञा शुरू भएको वैशाख १६ गतेयता पेट्रोल र डिजेल गरी कुल २ लाख ५ हजार ६२४ किलोलिटर भित्रिएको हो ।
यी दुई वस्तुमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ । सो अवधिमा कुल १ लाख ६२ हजार ८४८ किलोलिटर डिजेल आपूर्ति भएको छ । यस्तै ४२ हजार ७७६ किलोलिटर पेट्रोल भित्रिएको छ । मन्त्रालयका अनुसार निषेधाज्ञा लागू भएयता हालसम्म खाना पकाउने एलपी ग्यास भने ५८ हजार १७६ मेट्रिक टन आयात भएको छ ।
मन्त्रालयका अनुसार हाल नेपाल आयल निगमसँग ४७ हजार ३८५ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन)को मौज्दात रहेको छ । आयातमा कुने अवरोध र समस्या नरहेकाले आपूर्ति व्यवस्थापनमा सहज भएको बताइएको छ ।