Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डिजिटल प्रविधिको बाटोमा सहकारी

डिजिटल प्रविधिको बाटोमा सहकारी

दक्ष पौडेल,
उपाध्यक्ष : राष्ट्रिय सहकारी विकास बोर्ड,

पछिल्लो समय प्रविधि प्रयोगमा सहकारीका सदस्यहरूको आकर्षण बढेको छ । अधिकांश सहकारीहरूले प्रविधिमार्फत सेवा दिन थालेपछि प्रयोगकर्र्ता सदस्यहरूको संख्या पनि बढ्न थालेको हो ।

कानूनी समस्या हुँदाहुँदै पनि सहकारी संस्थाहरूले विभिन्न बैंक र भुक्तानी सेवा प्रदायकसँग मिलेर एटीएमलगायतका सेवा शुरू गरेका छन् । यस्ता संस्थाहरूले विभिन्न बैंक तथा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकसँग सम्झौता गरी एटीएम, मोबाइल बैंकिङ, क्यूआर कोड पेमेन्टलगायतका डिजिटल कारोबार गरिरहेका छन् ।

घरमै बसेर फण्ड ट्रान्सफर गर्न मिल्ने, मोबाइल तथा बत्ती, पानीको बिल तिर्न मिल्ने, मिनी स्टेटमेण्ट लिन मिल्ने सेवा दिएकोले पनि प्रविधि प्रयोग गर्ने सदस्यको संख्या बढेको छ । कतिपय सहकारीले स्मार्ट बैंकिङमार्फत आफ्ना सदस्यहरूले मोबाइलबाटै खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, खातामा रकमान्तर गर्न सकिने सुविधा दिएका छन् । बैंकहरूबाट सहकारीमा र सहकारीबाट बैंकहरूमा रकमान्तर गर्ने, मोबाइल रिचार्ज, वालेटमा रकम जम्मा, क्यूआर कोडमार्फत भुक्तानी, कार्डरहित एटीएम लगायतको सेवा सहकारीहरूले दिन थालेका छन् ।
अधिकांश सहकारी म्यानुअलबाट स्वचालित पद्धति (अटोमेसन)मा जाँदै छन् । खासगरी शहर केन्द्रित सहकारी स्वचालित पद्धतिमा सञ्चालन हुन थालेका छन् ।

सहकारीहरूले एप्लिकेसनमा आधारित एटीएम सञ्चालन र पेपरलेस बैंकिङ कारोबारमा समेत जोड दिएका छन् । विशेषगरी बचत तथा ऋणको काम गर्ने सहकारीहरू प्रविधिको प्रयोगमा बढी अग्रसर भएका छन् । अहिलेसम्म एससीटी (स्मार्ट च्वाइस टेक्नोलोजिज) नेटवर्कसँग मिलेर दर्जनौं सहकारीले एटीएम कारोबार गर्दै आएका छन् । यसैगरी फोन पे, ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा सयौं सहकारीले मोबाइल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय कारोबारसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् ।

यससँगै यस्ता संस्थाहरूलाई नियमन र व्यवस्थित गर्न पनि उत्तिकै आवश्यक देखिन्छ । करिब २८ हजार सहकारी संस्थालाई अनुगमन तथा सुपरिवेक्षणमा ल्याउन, उनीहरूको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन, सहकारीका सदस्यलाई सहकारीप्रतिको सम्मानलाई अझै बढाउन, सहकारीमा आम जनमानसलाई आकर्षित गर्न र सहकारीका अन्तर्राष्ट्रिय मूल्य मान्यता एवं सहकारी ऐन, कानूनको पालना गराउन राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी महासंघ, सहकारी अभियान र सरकारसँगको सहकार्यमा काम गरिरहेको छ । अहिले मुलुक संघीयतामा प्रवेश गरिसकेपछि संघीय संरचना अनुसार नै सहकारी विकास बोर्ड जानुपर्ने खाँचो महसुस भएको छ ।

हाल सहकारीको संख्या धेरै भएकाले आपसमा गाभ्ने÷गाभिने (मर्जर)को विषय उठ्ने गरेको छ । यसमा केही काम भएका पनि छन् । सहकारीहरूलाई मर्जर गराउने बृहत् अभियान अन्तर्गत एक वर्षको बीचमा करिब ८ हजार सहकारी आपसमा मर्जर भएको पाइन्छ । मर्जर अभियान तीव्र रूपमा अघि बढिरहेकै छ । यद्यपि बैंकको तुलनामा सहकारी धेरै हुनु स्वाभाविक नै हो । किनकि सहकारी भनेका टोल, छिमेक र समुदायमा सहकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्ने संस्था हुन् ।
संख्यात्मक रूपमा बढेका सहकारीलाई व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने बोर्डको योजना छ । सहकारी संस्थाहरूको व्यावसायिक विस्तार, क्षमता अभिवृद्धि र सेवाको विविधीकरण हुन आवश्यक छ । साथै प्रविधिमा सहकारी जानुपर्छ भन्ने बाटोमा अहिलेको सहकारी अभियान केन्द्रित छ । यो अभियानले नेपालको सहकारीको संख्यात्मक वृद्धिलाई कम गर्छ भने व्यावसायिक सहकारी अभियानलाई बढावा दिन्छ ।

सहकारी विकास बोर्ड भनेको नीति, नियम बनाउने निकाय हो । बोर्डले नीति, नियम बनाउँदा सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमा लैजाने, कर्जा सूचना केन्द्रको सञ्चालन, अन्तरसहकारी बचत तथा ऋणका विषयहरू समेटेको छ । प्रविधिमा सहकारी जानुपर्छ र यस क्षेत्रमा डिजिटलीकरण बढाउनुपर्छ । सहकारी क्षेत्रमा कारोबार गरेका जुनसुकै सदस्यले पनि डिजिटल प्रविधिमार्फत अत्याधुनिक सेवासुविधा पाउनुपर्छ । विद्युतीय भुक्तानी कारोबारलाई बढावा दिनुपर्छ । बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका सेवा सुविधा सहकारीका सदस्यले पनि पाउनुपर्छ भन्ने बोर्डको पनि मान्यता हो ।

नयाँ पुस्ताले डिजिटल माध्यमबाट कारोबार गरिरहेकाले उनीहरूलाई सहकारीमा आकर्षित गर्न र सहकारीको सेवामा स्तरोन्नतिका लागि पनि प्रविधिको प्रयोग गर्नु अत्यावश्यक भइसकेको छ ।
यही आवश्यकतालाई ध्यानमा राखेर सम्पूर्ण डिजिटल सेवा दिन ‘हब कोअपरेटिभ सर्भिस लिमिटेड’ प्रविधि सहकारी संस्था गठन गरिएको छ । सबै सहकारीलाई एक सूत्रमा समेटेर एकीकृत लेखाप्रणाली, एकीकृत प्रविधिको विकास, प्रविधिमार्फत नै सहकारीका काम गर्ने, अन्तरसहकारी कारोबार, अन्तरसहकारी वित्तीय जानकारी आदानप्रदान, आपसी समझदारी तथा सहमतिको आधारमा कारोबार गराउने, मोबाइल बैंकिङ, क्यूआर कोड लगायतको माध्यमबाट भुक्तानीको व्यवस्था गर्ने उद्देश्यले संस्थाले ‘हब सोलुसन’ नामक ‘ब्रिज सिस्टम’को विकास गरिएको छ ।

अहिले सहकारी संस्थाहरूले विभिन्न आधुनिक सफ्टवेयरको प्रयोगमार्फत सेवा दिँदै आएका छन् । यस्तोमा प्रयोगमा रहेका सबै सहकारीका सफ्टवेयरलाई एकीकृत गर्न हब कोअपरेटिभ सर्भिस लिमिटेडले ‘हब सोलुसन’को अवधारणा ल्याएको हो । सहकारीमा विद्युतीय माध्यमबाट गरिने जति पनि पनि कारोबार छन्, ती सबै हब सोलुसनमार्फत गर्न सकिन्छ ।

मुलुकभर कार्यक्षेत्र रहेको हब कोअपरेटिभले प्रारम्भिक सहकारी संस्थालाई सदस्य बनाएर सेवा दिन थालिसकेको छ । हबको सदस्य बनेका सहकारीले प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्न सक्छन् । हबको सदस्य बनेका सहकारी संस्थाका सदस्यहरूले एक सहकारीबाट अर्को सहकारीको चेक भुक्तानी लिन तथा जम्मा गर्न सक्नेछन् ।
प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउने हाम्रो उद्देश्य हो । डिजिटल प्रविधिको प्रयोगले सहकारी संस्थाको क्षमता अभिवृद्धि भई सदस्यलाई आधुनिक सेवा दिन सकिन्छ । सहकारीलाई प्रतिस्पर्धी र सक्षम बनाउन आधुनिक प्रविधि प्रयोग गर्नुको विकल्प छैन ।

सहकारी संस्थाहरूले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारी विभागबाट अनुमति लिएर सहकारी क्षेत्रमा डिजिटल प्रविधिमार्फत वित्तीय सेवा दिन शुरू गरेका छौं । सहकारी विभागबाट अनुमति लिएर राष्ट्र बैंकको सहमतिका लागि आवेदन दिएका छौं । भुक्तानी सेवा प्रदायक निकायसँग समन्वय गरी काम अघि बढेको छ ।

सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विद्युतीय प्रणालीमार्फत हबले आफ्ना सदस्यलाई अन्तरसहकारी कारोबारको सुविधा दिन थालेको छ । सदस्य सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्नेगरी अन्तरसहकारी कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसको माध्यमबाट सहकारीलाई बैंक तथा अन्य वित्तीय संस्थाले जस्तै प्रभावकारी, व्यवस्थित र छिटो–छरितो सेवा दिन सकिन्छ ।

अधिकांश सहकारी संस्थाहरू म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा हबका सदस्यलाई डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबारको थालनी गरिएको हो । केही सहकारीमा यसको प्रयोग भइरहेको छ । सबै सहकारी संस्थाले यसको प्रयोग गरेमा नेपालको सहकारी अभियानमा यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x