सफाइकर्मीलाई कोरोना विरुद्धको खोप लगाउन माग
काठमाडौं , ३० जेठ । सरोकारवालाहरुले सफाईकर्मीलाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था काठमाडौं महानगरपालिकासँग माग गरेका छन् । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको बेला पनि कार्यक्षेत्रमा खटिनुपर्ने बाध्यताका कारण सफाईकर्मीहरु उच्च जोखिममा रहेको भन्दै खोपको व्यवस्था गर्न माग गरेका हुन ।
फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले सफाई क्षेत्रमा क्रियाशिलहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गरे । हाल उपत्यकामा २५ सय सफाईकर्मी रहेपनि २ हजारभन्दा बढीले खोप लगाउन बाँकी रहेकाले उनीहरुलाई तत्काल व्यवस्था गर्न महानगरपालिकासँग आग्रह गरे ।
यस्तै कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.का अध्यक्ष रमेश नेवाले पनि विगतदेखि नै सफाईकर्मीलाई खोपको व्यवस्था गर्न आग्रह गर्दै आएको जानकारी दिए । सफाईकर्मी कोरोनाको उच्च जोखिममा रहेको र उनीहरुलाई कार्यक्षेत्रमा जादाँ डराउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको मनोबल उच्च बनाई काममा खटाउन राज्यले तत्काल खोपको व्यवस्था गरिदिनुपर्ने बताए ।
कान्तिपुर सिसडोलले अहिले सफाइकर्मीका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ,मास्क, पञ्जा, बूट, एप्रोन, स्यानिटाइजर लगायतका सामाग्री लगाएर फोहोर संकलन गर्न पठाइ रहेको पनि उनले जानकारी दिए ।