२०७९÷८० सम्ममा १ अर्ब रुपैयाँको राफसाफ कोष स्थापना हुने
काठमाडौं, ३१ जेठ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारलाई व्यवस्थित र अनुशासित राख्न राफसाफ कोष कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको राफसाफ कोषलाई कार्यान्वयनमा ल्याउँन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिइसकेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । आर्थिक वर्ष २०७९÷८० सम्ममा १ अर्ब रुपैयाँको राफसाफ कोष स्थापना हुने उनले जानकारी दिए ।
कोष सञ्चालनमा आएपछि धितोपत्र कारोबारको रकम समयमा नै राफसाफ तथा फछ्र्याैट हुने छ । त्यस्तै लगानीकर्ताले समयमा नै शेयर बिक्री बापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोबारका सम्भावित जोखिम कम हुने उनले जानकारी दिए ।
कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउँन कोष व्यवस्थापकले शेयर ब्रोकरहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबारको १ प्रतिशत रकम जम्मा गर्नुपर्ने छ । जुन रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
तर, बोर्डले गरेका नीतिगत व्यवस्थामाथि शेयर ब्रोकर कम्पनीहरुले विरोध गर्दै आएका छन् । यो कोष आमलगानीकर्ता र पूँजीबजारसँग सम्बद्ध सबैका लागि फाइदाजनक हुने भएकाले यो व्यवस्थालाई सबैले लागु गर्नुपर्नेमा बोर्डको जोड छ ।
यस्तै राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्ने व्यवस्था छ ।