चालु आर्थिक वर्षको १० महिनामा निर्यात ३२ प्रतिशतले बढ्यो
काठमाडौं, १ असार । चालु आर्थिक वर्षको १० महिनामा निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै कुल बस्तु आयात भने २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।