आज राष्ट्रिय धान दिवस, चालू आवमा बढ्यो धानखेतीको क्षेत्रफल तथा उत्पादकत्व
काठमाडौं, १५ असार । कोरोना कहरकै बीच आज (मंगलवार) मुलुकभर १८औं राष्ट्रिय धान दिवस मनाइँदै छ । महामारीको जोखिमलाइ दृष्टिगत गर्दै औपचाकितामा सीमित रहेर मनाउन लागिएको यस वर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।
१८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी औपचारिक रूपमा धान दिवस मनाइँदै छ । कोरोना महामारीको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै औपचारिक रूपमा मात्र धान दिवस मनाउन लागिएको कृषि विभागले बताएको छ ।
अन्य जिल्लामा समेत औपचारिक रूपमा सामान्य कार्यक्रम गरी धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ ।
कोरोना महामारीका कारण अधिकांश जनशक्ति गाउँ फर्किएर कृषिमा संलग्न हुँदा पछिल्लो वर्ष धानखेती हुने क्षेत्रफल तथा धानको उत्पादकत्व बढेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७७ अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ मा धानबाली लगाइएको क्षेत्रफलमा १.० प्रतिशतले र धानको उत्पादनमा १.२८ प्रतिशतले वृद्धि भएको छ । चालू आवमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५७ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा धानबाली लगाइएको क्षेत्रफलमा २.२ प्रतिशतले ह्रास आई उत्पादकत्वमा १.१ प्रतिशतले कमी आएको थियो । अनुकूल मौसम र पर्याप्त जनशक्तिको कारण यस वर्ष धानको उत्पादकत्वमा ०.४ प्रतिशतले बढोत्तरी भएको बताइएको छ ।
मुलुकमा धान तथा यसका उपउत्पादन १ खर्ब रुपैयाँ बराबरको हुने गरेको तथ्यांकले देखाएको छ । नेपालमा कृषियोग्य जमीनको ४७ प्रतिशतमा धानखेती हुने गरेको छ भने खाद्यबालीको कुल उत्पादनमा धानको योगदान ५३ प्रतिशत रहेको छ ।