तल्लो अरुणको सर्वेक्षणपत्र जारी गर्न समझदारी, यी हुन् आयोजनाका विशेषता
काठमाडौं, २८ असार । ६७९ मेगावाट क्षमताको तल्लो अरुण आयोजना निर्माण अघि बढ्ने भएको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षणपत्र जारी गर्ने प्रयोजनका लागि सरकार, लगानी बोर्डको कार्यालय र सतलज विद्युत् निगम (एसजेभीएन इन्डिया)बीच आइतवार समझदारीपत्रमा हस्ताक्षर भएसँगै काम अघि बढ्ने भएको हो ।
९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेकै भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।
अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक रूपमा २ हजार ६२५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ । संखुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षक मध्येको एक हो । लगानी बोर्डको यही असार ८ गते बसेको ४७औं बैठकले विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगमसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
आयोजनाको कुल लाख १ हजार ३०० मिलियन अमेरिकी डलर हुनेछ । समझदारीअनुसार ३ वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । सो आयोजनाको हाल भौतिक प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुगेको छ ।
अधिकतम क्षमतामा स्रोतको उपयोग गरिँदा आयोजनाको क्षमता १ हजार मेगावाटको हाराहारीमा हुने ऊर्जा मन्त्रालयको अनुमान छ । यो आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुनेछ ।
भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’को पानी सिधै प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना असाध्यै आकर्षक मानिएको छ । संखुवासभा र भोजपुरमा पर्ने आयोजनामा करिब १२.४ किलोमिटर लामो र १०.२ मिटर व्यास भएको सुरुङ निर्माण गर्नुपर्नेछ ।