आजदेखि पुनः खोप अभियान सञ्चालन
काठमाडौं, २९ असार । सरकारले आज (मंगलवार)देखि कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्दै छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए ।
विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइनेछ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ ।
यसैगरी आजै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपांगता भएका नागरिक र हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीलाई लगाइनेछ ।
मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानमा खोप लगाउन छूट भएका सबैलाई खोप लगाउने भएको छ । खोप लगाउन नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभए पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ ।
यस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ । विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपांगता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले बताएको छ ।
अहिलेसम्म नेपालमा कुल जनसंख्याको ८.८ प्रतिशत अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
ति