११ महिनामा १६ सय ६२ अंकले उचालियो शेयर बजार
काठमाडौं, २ साउन । नेपालको शेयर बजार एक वर्ष अवधिमा १६ सय ६२ अंकले माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तमा १३६२.४ रहेको नेप्से परिसूचक चालू आवको जेठ मसान्तमा ३०२५.८ पुगेको छ ।
२०७८ जेठ मसान्तमा धितोपत्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब पुगेको छ । २०७७ असार मसान्तमा बजार यो १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो ।
प्रतिवेदनका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.९ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको ९.० प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ७२ अर्ब ९२ करोड रहेको छ ।