राष्ट्र बैंकद्वारा ३ खर्ब ३ अर्बभन्दा बढी तरलता प्रशोचन
काठमाडौं, ५ साउन । गत ११ महिना अवधिमा ३ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को जेठ समान्तसम्ममा रिभर्स रिपोमार्फत १ खर्ब ९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ४८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ७८ अर्ब तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा रिपोमार्फत ५९ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत १३३ अर्ब २७ करोड गरी कुल १ खर्ब ९२ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत १ खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १ खर्ब ३ अर्ब २८ करोड गरी कुल २ खर्ब १९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको थियो ।
सो अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर ३ अर्ब १४ करोड खुद खरिद गरी ३ खर्ब ७१ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ५८ करोड खुद खरिद गरी ४ खर्ब १६ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो ।