आर्थिक क्रियाकलापमा महिला सहभागिताको जोड

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरंजीवि नेपालले ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक क्रियाकलापमा अगाडी बढाउन १ प्रतिशतमा ऋण दिने व्यवस्था गरिएको भएपनि अहिले सम्म कसैले उक्त ऋण नलिएको जानकारी गराएका छन् । वुमन एक्ट, नेपाल बंगलादेश बैंक र नेपाल बैकर्स संघको आयोजनामा राजधानीमा आज संचालित महिलाको आर्थिक शसक्तिकरणका लागि निजी क्षेत्रको भुमिका बिषयक राष्ट्रिय कार्यशाला गोष्ठिमा उनले सो कुरा बताएका हुन ।
उनले बैंकिङ क्षेत्रमा आबद्ध मध्ये १५ प्रतिशत महिलाले मात्र ऋण लिएको तथ्यांकले पनि आर्थिक कारोबारमा महिलाहरुको सहभागिता निकै न्यून रहेको पुष्टि भएको बताए । महिला आर्थिक रुपले शसक्त नभए सम्म उनीहरु हिंसा मुक्त हुन नसक्ने बताउदै गभर्नर नेपालले महिलाको सामाजिक र कार्यक्षेत्रमा रहेका समस्याहरुको समाधान जरुरी रहेको बताए ।
त्यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजनीतिमा ४० प्रतिशत महिलाको सहभागिता देखिए पनि आर्थिक क्रियाकपालमा अझै महिला समानता नआएको बताए । महिला सहभागिता बिना मुलुकमा आर्थिक समृद्धि असम्भव नभएको भन्दै उनले उद्योग, व्यापार, बैंकिङ, कृषि लगायतका सबै क्षेत्रमा पुरुष सहर महिला सहभागिता गराउनुपर्नेमा जोड दिए । अध्यक्ष ढुंगानाले लैंङ्गिक असमानतालाई शुन्य स्तरमा झार्नुपर्ने भन्दै महिलाहरुको घरायसी कामलाई राष्ट्रिय उत्पादनमा समावेश गर्न सके आर्थिक स्तरमा महिलाको चाडो परिर्वतन हुने बताए ।
कार्यक्रममा वुमन एक्टकी अध्यक्ष सिजना अधिकारीले आर्थिक क्रियाकलापमा महिलाको समान सहभागिता भइ मुलुक सम्बृद्धि हुनै नसक्ने बताइन । लैंङ्गिका समानता र एकताका लागि सरकारको मात्र नभई नीजि र सामाजिक क्षेत्रको पनि उत्तिकै दायित्व भएको उनले बताइन ।