Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक वर्षमा ३ स्थानीय तहमा बैंकका शाखा खुले, ३ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

एक वर्षमा ३ स्थानीय तहमा बैंकका शाखा खुले, ३ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

काठमाडौं, ११ भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा थप ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । गत आर्थिक वर्षमा थप ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा कार्यालय खुलेसँगै कुल ७५३ वटा स्थानीय तहमध्ये गत असार मसान्तसम्म ७५० वटा स्थानीय तह बैंकिङ पहुँचमा जोडिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वागमती प्रदेशको धादिङ जिल्लामा पर्ने रुविभ्याली गाउँपालिका, कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पर्ने जुनीचाँदे गाउँपालिका र सुदूर पश्चिम प्रदेशको बझाङ जिल्लामा पर्ने साईपाल गाउँपालिका अझै बैंकिङ पहुँच बाहिर रहेका छन् ।

हालसम्म ७५३ वटा स्थानीय तहमध्ये प्रदेश नं. १ मा पर्ने १३६ स्थानीय तहमा नै वाणिज्य बैंकका शाखा कार्यालय पुगेका छन् । त्यस्तै प्रदेश नं. २ मा पनि १३६ वटा स्थानीय तहमा नै वाणिज्य बैंकका शाखा कार्यालय पुगेका छन् । त्यसैगरी गण्डकी प्रदेशका ८५ स्थानीय तह र लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा पनि वाणिज्य बैंकका शाखा पुगेको अवस्था छ भने बाँकी बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये एक स्थानीय तह, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये एक स्थानीय तह र सुदूर पश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये एक स्थानीय तहमा अझै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन् ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा ७४७ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा कार्यालय पुगेका थिए । तर, गत एक वर्षभित्र वाणिज्य बैंकहरुले थप ३ वटा स्थानीय तहमा मात्र शाखा कार्यालय खोलेका छन् । यसरी कम शाखा खोलिनुमा कोरोना महामारीलाई मूल्य रुपमा लिइएको छ । गत वर्ष भरी प्राय जसो सरकारले गरेको निषेधाज्ञा र लकडाउनले गर्दा बैंकहरुले बाँकी रहेका ३ वटा स्थानीय तहमा बैंकका शाखा कार्यालय स्थापना गर्ने नसकेको देखिन्छ । २०७६ असार मसान्तसम्म ७३५ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा कार्यालय खुलेका थिए । २०७६ असार मसान्तदेखि २०७७ असार मसान्तसम्म थप १२ वटा स्थानीय तहमा बैंकका शाखा कार्यालयहरु खुलेका थिए ।

यसैगरी नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ असार मसान्तमा १३३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा २०७८ असार मसान्तसम्ममा १० हजार ६८३ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x