प्रदेश २ को उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ९३ अर्ब कर्जा प्रवाह
काठमाडौं, १४ भदौ । प्रदेश २ को उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ९३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश नं २)को गत आर्थिक वर्षको प्रथम अर्धवार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा प्रदेशको उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट भएको कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको प्रथम अर्धवार्षिक अवधिमा यस्तो कर्जा ८७ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.३३ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २२.८६ प्रतिशत, निर्माण उद्योगतर्फ १९.४३ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामानतर्फ ५.२५ प्रतिशत, खानी उद्योगतर्फ ०.६१ प्रतिशत र विद्युत्, ग्याँस तथा पानी उद्योगतर्फ ०.५३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा खानी तर्फको कर्जामा १२.१० प्रतिशत र गैर–खाद्यवस्तु उत्पादनतर्फको कर्जामा ५.५६ प्रतिशतले कमी आएको छ भने धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स, विद्युत् ग्याँस तथा पानी र कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फको कर्जामा क्रमशः ५०.६४ प्रतिशत, ४७.४० प्रतिशत र १८.१३ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, निर्माणतर्फको कर्जा प्रवाह अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा २५.३१ प्रतिशतले वृद्धि भई १८ अर्ब १२ करोड पुगेको छ ।