व्यावसायिक प्रयोजनका लागि शेयर धितो कर्जामा मौद्रिक नीतिले तोकेको सीमा लागू नहुने
काठमाडौं, २१ भदौ । शेयर बजारमा लगानी गर्ने प्रयोजनबाहेक अन्य व्यवसायमा लगानीका लागि शेयर धितो कर्जामा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकेको सीमा लागू नहुने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले शेयर धितो राखी प्रवाह भएको मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रू. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रू. १२ करोडसम्म कायम गरेको छ ।
उक्त व्यवस्था कार्यान्वयनमा लगिएपछि हाल शेयर बजार परिसूचक र कारोबार दुवै घट्दै गएको भन्दै शेयर लगानीकर्ताले चर्को विरोध गर्दै आएका छन् । राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाकै कारण शेयर बजार खस्किएको लगानीकर्ताको बुझाइ छ । विरोध बढ्दै गएपछि राष्ट्र बैंकले सोमवार आफ्नो वेबसाइटको ‘एफएक्यू’ शीर्षकमा यसबारे प्रस्ट पारेको हो ।
‘उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ,’ राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रूपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit)को रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रू. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रू. १२ करोडको सीमा लागू हुँदैन ।’